MENU

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या ( २० देशका ) ३ सय १५ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

अप्रिलको अन्त्यसम्म नेपालमा पनि कोरोना विरुद्धको खोप आउन सक्ने

हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

विभिन्न मुलुकमा तीब्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ ।

यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ ।

बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ

भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।