MENU

बेलायतका प्रधानमन्त्री जोनसन भारतमा

UK Priminister Borish johnson in India

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन्। उनी बिहीबार गुजरात आइपुगेका भारतीय राजधानी नयाँदिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहजिल्ला हो। बिहीबार बिहान गुजरात आएका उनले यहाँ राजनीतिक तथा अन्य भेटघाट गर्ने जनाइएको छ।

समाचारअनुसार बेलायतका प्रधानमन्त्री जोनसनले आज नै यहाँका व्यावसायिक प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। गुजरात भारतीय मूलका बेलायती नागरिकहरूमध्ये करिब आधाजति नागरिकको जन्मस्थल हो। गुजरातमा उनले व्यापारिक समुदायका नेताहरूसँगको भेटघाटका क्रममा भारत र बेलायतबीचको लगानीका विषयमा कुराकानी गर्नेछन्।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका लागि शुक्रबार राजधानी नयाँदिल्ली प्रस्थान गर्ने जनाइएको छ। यसअघि प्रधानमन्त्री जोनसनले भारत भ्रमणको कार्यक्रम सार्वजनिक गरेको भए पनि कोरोना भाइरसको प्रकोपका कारण दुईपटकसम्म स्थगित भएको थियो।

भारत र बेलायतमा नै कोरोना भाइरसको बढ्दो प्रकोपबाट ठूलो क्षति पुगेको थियो। यसपटक पनि उनले भारतमा रहँदा यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ताका क्रममा खासगरी आर्थिक लगानी, व्यापारिक साझेदारी, प्रतिरक्षा र जनता–जनताबीचको सम्पर्क एवं हरित गृहलगायतका विषयमा आवश्यक छलफल र द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम रहेको छ।

साथै यस भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको सैन्य हमलाका विषयमा पनि कुराकानी हुने बताइएको छ। बेलायतले रुसले गरेको आक्रमणको विरोध गरिरहेको छ। प्रधानमन्त्री जोनसन हालै मात्र युक्रेनको राजधानी किभ पुगेका थिए। रासस/एएफपी