MENU

एकैदिन २२६ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोनामा संक्रमितको संख्या १७९८ पुग्यो

नेपालमा सोमबार एकै दिन थप २२६ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सोमबार २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

सोमबार दैलेखमा मात्रै थप ४१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, यस्तै कपिलवस्तुमा ४०, सर्लाहीका ३८, जुम्लामा १९, रौतहटमा १८ तथा कैलालीमा १४ संक्रमित थपिएका छन् ।

त्यस्तै, सल्यानका १० जनामा संक्रमण पुष्टि भएको छ भने दाङका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। बाँकेमा ७ जना, धनुषामा ७ , सुर्खेत बराहतालका ५ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै सिराहाको सूर्यनारायण सत्यनारायण क्वारेन्टिनमा रहेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

महोत्तरी, झापा र नवलपरासी पूर्व कावासोतीका २ जनामा पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

जनकपुरको प्रादेशिक अस्पतालमै रहेका उदयपुरका ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरमा ११ महिने बालक, अछाममा एक वर्षीय बालक, बैतडीका ३४ वर्षीय पुरुष, डोटीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी मनवानपुरका ६१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया १७९८ पुगेको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् ।