गैर आवासीय नेपाली संघ (एनआरएन) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद (आईसीसी) को बैठकले गरेको हो ।
संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित नेपाल सरकारको केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।
मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँको केन्द्रीय कोष खडा गरेको थियो। सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन् । अन्य व्यक्ति वा संस्थाहरुले पनि स्वेच्छाले सो कोषमा रकम जम्मा गर्न सक्नेछन् ।
एनआरएनएले यसअघि श्रमिक कल्याणकारी कोषका लागि एक करोड ६ लाख रूपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको थियो ।