MENU

चीनबाट फर्काइएका नेपालीलाई दुई सातासम्म क्‍वारेन्टाइनमा राखिने

काठमाडौं । सरकारले चीनको वुहानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तयारी थालेको छ । चीनबाट नेपाल ल्याइने नेपालीहरुलाई दुई सातासम्म क्‍वारेन्टाइन (छुट्टै स्थानमा निगरानीमा) राखिने भएको छ ।

 

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित तवरले ल्याउने फाराम भर्ने सूचना जारी गरेको र उक्त फाराममा उल्लिखित विवरण भर्नसमेत आग्रह गरेका छन् ।

 

 

प्रवक्ता श्रेष्ठले भने, “इबोलाका समयमा इबोला प्रभावित ठाउँबाट ल्याइएका नेपालीलाई ककनीमा क्वारेन्टाइन गरिएको थियो । अहिले पनि कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीलाई कुन ठाउँमा राख्‍ने भनेर स्थान खोजिँदै छ । अहिलेसम्म स्थान भेटिएको छैन । किटहरु खरिद गर्न मन्त्रालय संवेदनशील भएर लागेको छ । अहिले वुहान क्षेत्रमा १७७ नेपाली छन् ।”

 

उनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनबाट आउने सबैलाई उताको विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने र नेपाल आइपुग्नेलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित ठहरिए उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा रखी उपचार गरिने छ । अन्य यात्रुलाई दुई साता निगरानीका लागि छुट्टै स्थान (क्‍वारेन्टाइन) मा राखिनेछ ।”

 

 

चीनको हुबेई प्रान्तमा रहेका सबै नेपालीलाई विमान चार्टर गरी ल्याइने सरकारले शनिबार निर्णय गरेको छ । चीनमा रहेको नेपाली दूतावासले पनि सूचना जारी गर्दै सम्पर्कमा रहनसमेत आग्रह गरिसकेको छ ।

 

 

सूचनामा उद्धारका लागि विमान चार्टर गरिएको जानकारी दिइएको थियो । दूतावासले आइतबासम्म फाराम भर्न आग्रह गरेको छ ।

 

 

काठमाडौंमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुई जहाज तयारी अवस्थामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी गराएका थिए । अहिलेसम्म अन्य देशले पनि विमान चार्टर गरेर आफ्ना नागरिकलाई स्वेदश फिर्ता गरेका छन् ।

 

 

चीनको विदेश मन्त्रालयले शनिबार वुहानमा रहेका नेपालीहरु सुरक्षित भएको बताएको थियो । चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको बताएको थियो ।