MENU

ठगीका घटनाबाट सचेत हुन अष्ट्रेलियास्थित नेपाली दुतावासको आग्रह

अष्ट्रेलियामा हुन्डी र डुकुटीको नाममा आकर्षक प्रलोभन दिएर नेपालीहरुबाट रकम संकलन गर्ने तर भुक्तनी नगर्ने गुनासाहरु बढ्दै गएको छ ।

क्याबेरा, अष्ट्रेलिया ।

अष्ट्रेलियास्थित नेपाली दुतावासले, नेपालमा रकम पठाउने ठगीमा सम्लग्न व्यक्तिहरुलाई तत्काल रकम तिर्न र त्यस्ता गतिविधी नदोहोर्याउन सचेत गराएको छ ।

क्याबेरास्थित नेपाली दुतावासले प्रेस विज्ञप्ति जारीगर्दै, पछिल्लो समय अष्ट्रेलियामा  ठगीका घटना बढेको भन्दै सचेत हुन पनि नेपाली समुदायलाइ अनुराेध गरेकाे छ ।

विज्ञप्तिमा दुतावासले, उच्च सटही दरमा नेपालबाट पैसा पठाइदिने तथा महंगो व्याज सहित रकम फिर्ता गर्ने सर्तमा सापटी लिने र फिर्ता नगर्ने गरेको व्यापक उजुरी परेपछि, सर्बपक्षीय छलफल गरिएको र अबपनि त्यस्तो गतिविधी गरिए कानुनी कारबाहीका लागि सिफारिस गरिने जनाएको छ ।

“विभिन्न बहाना बनाई ठगी कार्यमा संलग्न व्यक्तिहरुलाई त्यस्तो कार्य तत्काल बन्द गर्न, पीडितहरुलाई तिर्न, बुझाउन बाँकी रकम तत्काल बुझाउन यस राजदुताबास सूचित गर्दछ । सो कार्य गरेको नपाइएमा त्यस्ता व्यक्तिहरुउपर कडा कारबाहीका लाग नेपाल र अष्ट्रेलियाका सम्बन्धित निकायहरुमा सिफारिस गरिने व्यहोरासमेत जानकारी गराइन्छ”  दुतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिगत केही महिनादेखि अष्ट्रेलियामा हुन्डी र डुकुटीको नाममा आकर्षक प्रलोभन दिएर नेपालीहरुबाट रकम संकलन गर्ने तर भुक्तनी नगर्ने गुनासाहरु बढ्दै गएको छ ।