MENU

नेपालमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो, एकैदिन १२९ जनामा संक्रमण

नेपालमा बुधबार एकैदिन १ सय २९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ।

बुधबार साँझ अबेर कर्णाली प्रदेशको सुर्खेतका थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।

योसँगै कुल संक्रमित संख्या ९ सय १ पुगेको छ ।

यसअघि बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ११४ जनामा कोरोनाको संक्रमण पुष्टि गरेका थिए ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले थप १५ जना संक्रमितको बारेमा जानकारी दिन बाँकी भएपनि कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले भारतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको जानकारी दिए ।

उनीहरुमध्ये १३ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका र २ जना चौकुने गाउँपालिकाका रहेको उनले बताए ।