MENU

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं, नेपाल ।

नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुलसंख्या १६ हजार १ सय ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ।

संक्रमितको संख्या घटेको दाबी

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको दाबी गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले, नेपालमा औसतमा संक्रमितको संख्या घट्दै गएको जिकिर गरेका हुन् ।

९९ प्रतिशत संक्रमितमा लक्षण देखिएन

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले नेपालका अधिकासं कोरोना संक्रमितमा कुनैपनि लक्षण नदेखिएको भन्दै सचेत रहन अनुरोध गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा पाण्डेले ९७ प्रतिशत कोरोना संक्रमित आयातित रहेको जानकारी दिदै, अन्य देशको भन्दा फरक नेपालमा अधिकासंमा संक्रमितमा कुनैपनि लक्षण समेत नदेखिएको बताए।

थप एकजनाको मृत्यु

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेपछि, उपचारका लागि पाटन अस्पतालमा उपचार गराइरहेका गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

आईसीयूमा राखेर उपचार गराइएका उनको गएराति मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दो

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मंगलबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका १४, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोराना पुष्टि भएको जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १२ र भक्तपुरका ४ जनामा कोरोना देखिएको हो।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै काठमाडौँ उपत्यकामा ५४ जनामा कोरोना देखिएको थियो।