MENU

नेपालमा कोरोना संक्रमितको संख्या एकैदिन ५३ ले बढ्यो, संक्रमितको संख्या ३५७

नेपालमा सोमबार एकै दिन हालसम्मकै उच्च ५३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

बाँकेमा ४६ जना पुरुष र १ महिला गरी थप ४७ जनाको नमूना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरी अस्पतालमा रहेको प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो। जस मध्ये ४६ जना पुरुष र १ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

एकै दिन एउटै जिल्लामा एकैपटक यति धेरै संक्रमण देखिएको यो पहिलो हो। यस्तै विराटनगर स्थित प्रयोगशालामा मोरङ जिल्लाका १ जना पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना पुरुषमा पनि संक्रमण देखिएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका १ जना, रौतहटका १ जना, दाङका १ जना र धादिङका १ जना गरी ४ जनाको रिपोर्ट पोजेटीभ आएको छ। यससँगै कुल संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ। जस मध्ये पुरुषको संख्या २ सय ९८ र महिलाको संख्या ५९ रहेको छ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३२, बागमती प्रदेशमा १८ जना गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय ५९ जना र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

ती मध्ये बागमती प्रदेश र प्रदेश नम्बर ५ मा एक एकजनाको मृत्यु भइसकेको छ ।