MENU

नेपाली कृषि बैज्ञानिकलाई अस्ट्रेलियाको साइन्स एंड इनोभेसन अवार्ड

ऋषि आचार्य, ब्रिसवेन ।

अस्ट्रेलियन सरकार केन्द्रिय कृषि, जल तथा वातावरण विभागद्धारा वितरण हुने यो बर्षको साइन्स एंड इनोभेसन अवार्ड नेपाली मूलका कृषि बैज्ञानिक डा दिनेश काफ्लेले जितेका छन् ।

अस्ट्रेलियन ब्युरो अफ एग्रिकल्चरल एण्ड रिसोर्स इकोनोमिक्स एण्ड साइन्सेसले राजधानी क्यानबेरामा आयोजना गरेको बिशेष कार्यक्रमा संघिय मन्त्री डेभिड लिटलप्राउड ले काफ्लेलाई कपास खेती अनुसन्धन तर्फ यो पुरस्कार वितरण गरेका थिए ।

डा काफ्लेले प्राप्त गरेको विज्ञान तथा नविनतम आविस्कार सम्बन्धि यो पुरस्कारकोलागि अस्ट्रेलियाको कटन रिसर्च एण्ड डिभलपमेन्ट कोपरेसनले सहयोग गरेको थियो । काफ्ले पुरस्कार स्वरुप कपास खेतिबारे अनुसन्धानको लागि २० हजार अस्ट्रलियन डलर जितेका छन् ।

सिलिकन तत्वको प्रयोग गरेर कपासको विरुवामा रोग प्रतिरोधात्मक क्षमता बढाउने बारेमा डा काफ्लेले एक बर्ष सम्म अनुसंधान गर्ने छन् । नेप्लिज अस्ट्रृलियन सँगको कुराकानीमा काफ्लेले भने, “अनुसन्धान सफल भएमा कपास खेतिको आधुनिकिकरण र रोग तथा किरासँग लड्न सक्ने क्षमता धेरै भएका बिरुवा उत्पादनका लागि उल्लेख्य प्रगति हुनेछ ।”

काफ्ले यो नविनतम अनुसन्धान ब्रिसवेनको डटन पार्कमा रहेको इकोसाइन्सेस प्रेसिङ्क्टको ग्रिनहाउसमा गर्ने छन् । ग्रिनहाउसको परिक्षण सफल भएमा फार्ममा ठुलो अनुसन्धान गर्ने योजना रहेको छ।

को हुन् डा काफ्ले ?

नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लको दशरथपुरमा जन्मे हुर्केका डा दिनेश काफ्लेले चितवनको रामपुरमा कृषि विज्ञान पढेका थिए ।

पछि इजराइलमा कृषि बिषयमा नै स्नातकोत्तर गरेका हुन् । डा काफ्लेले जर्मनीको फ्रिइ युनिभर्सीटी बर्लिनबाट इकोलोजीमा विद्यावरिधी गरेका थिए ।

श्रीमती र एक छोरा सहित २०१७ देखि उनी अस्ट्रेलियाको ब्रिसवेनमा बस्छन् ।

अस्ट्रेलियामा कपास खेती

अस्ट्रेलियामा कपास खेती क्विन्सल्याण्ड र न्यु साउथ वेल्स राज्यमा मुख्य रुपमा हुन्छ । यहाँको अर्थतन्त्रमा कपास खेतीको करिव २ बिलियन डलर भन्दा बढी योगदान रहेको छ ।

अस्ट्रेलियाको कपास खेतीमा १२ हजार भन्दा बढीले रोजगारी पाएका छन् । बार्षीक पाँच सय मिलियन जनसंख्यालाई कपडा पुग्ने कपास स्ट्रेलियाले उत्पादन गर्छ ।

नेपालमा कपास खेती अहिले प्राय शुन्य छ । डा काफ्ले यो अनुसन्धान सफल भए यहाँ सिकेको ज्ञान र प्रविधि नेपालमा पनि हस्तान्तरण गर्न सकिनेमा आफु आशावादीर रहेको बताए ।