MENU

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो।

अधिकारी नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन्।

अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो।

को हुन् अधिकारी?

महाप्रसाद अधिकारी लगानी बोर्डका सीईओ हुन्। लगानी बोर्डमा उनको कार्यकाल अगामी असारसम्म रहेको छ। उनी योभन्दा अगाडि पनि गभर्नर नियुक्तिका लागि पनि सिफारिस भएका थिए।

उनीसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव छ। नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर समेत भएका अधिकारीले सन् १९९३ मादी इन्डियन इन्टिच्यूट अफ चाटर्ड एकाउन्टेन्सिबाट चाटर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरेका छन्। अधिकारी वि.सं.२०२० सालमा खोटाङमा जन्मिएका हुन्।

गभर्नरमा नवनियुक्त अधिकारी नेकपानिकटस्थ मानिन्छन्। नेकपामा पनि उनलाई माधव कुमार नेपालनिकट मानिन्थ्यो। राष्ट्र बैंकमै डेपुटी गभर्नर हुनुअगाडि उनी नेपाल निकट मानिन्थे।

उनी डेपुटी गर्भनर हुँदा तत्कालीन समयमा गभर्नरमा युवराज खतिवडा थिए। उनले खतिवडासँग नजिक रहेर काम गरेका थिए। अहिले अर्थमन्त्रीमा उनै खतिवडा छन्। सोही कारण पनि खतिवडाले अधिकारीलाई रोजेका हुन्।

विज्ञताको आधारमा उनलाई राम्रो मानिन्छ। लगानी बोर्डमा उनले आफ्नो कार्यकुशलता राम्रैसँग देखाएका छन्।

बोर्डमा अधिकारीको सीईओको कार्यकाल असारसम्म थियो। केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बोर्डको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए।