MENU

लकडाउन १० दिन थप्ने निर्णय

सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने बताएका थिए । वैशाख २५ सम्म लकडाउन गर्ने र स्थितिमा सुधार आए सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन संसद अधिवेशन आहृवान गर्न सकिने उनले बताएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरससम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको भन्दै थप गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो ।

पछिल्लो समयमा लकडाउनकै बेलामा सरकारले काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट दिँदै आएको छ ।

तर संक्रमितको संख्या पनि बढिरहेको छ । उदयपुरको भुल्केमा समुदाय स्तरमा संक्रमण देखिएको छ भने संक्रमित पनि बढेर ५२ पुगेको छ ।