MENU

विदेशबाट नेपाली स्वदेश फर्काउन सुरु , युएइ, म्यानमार र जापानबाट २०१ जना नेपाल फर्किए

Nepal Airlines at Sydney Airport, Picture: Kieran Wells Source: Windswept Aviation Photography

सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा रहेकाहरुलाई नेपाल फर्काउन थालेको छ ।

जस अन्र्तगत पहिलो चरणमा शुक्रबार युएईबाट १६८, म्यान्मारबाट २६ र जापानबाट ७ जनालाई स्वदेश फर्काइएको हो ।

एयर अरेबियाले यूएईबाट एक सय ६८ नेपाली र एउटा शव लिएर आएको छ।

म्यानमारबाट बिहान दुई वटा सैनिक जहाजले २६ नेपाली लिएर आएका छन् ।

त्यस्तै विदेशमा रहेका नेपालीहरुलाई सरकारले उद्धार खुला गरेसँगै जापान पुगेको नेपाल एयरलाइन्सले ७ जना नेपाली लिएर आएको छ।

हिजो साँझ जापानको नारिताबाट फर्किएको विमानमा ७ जना नेपाली रहेको बताइएको छ । नेपाल एयरलाइन्स नेपालबाट जापानी नागरिकसहितलाई लिएर नारिता गएको थियो।

कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र सिसीएमसीको समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । उनीहरुको आवश्यक व्यवस्थापन सिसीएमसीको निर्णयअनुसार हुन्छ ।

युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् ।

उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सरकारले उद्धारका लागि प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालीम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामी, आममाफी पाएर आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको छ।