MENU

सस्तो भाडादरमा अस्ट्रेलिया–काठमाडौ चार्टर्ड उडान हुँदै; भाडा देखि उडान तालिका सम्म

Australia to Nepal via Singapore Airlines Photo: S.K with LENS
Repatriation Flight Australia to Nepal via Singapore Airlines Photo: S.K with LENS

सिड्नी । नेपाली दुताबास क्यानबेराको संयोजन तथा गैर आवासी नेपाली संघ अस्ट्रेलियाको पहलमा अस्ट्रेलिया काठमाडौ सस्तो भाडामा सेमी चार्टर्ड उडान हुने भएको छ ।

गैर आवासी नेपाली संघ अस्ट्रेलिया तथा बिभिन्न सामूदायीक संघसस्थाको पहलमा सस्तो सेमी चार्टर्ड उडानका लागि ट्राभल्स ऐजेन्सीहरुसँग आशयपत्र माग गरिएको थियो । ६ वटा ट्राभल्स ऐजेन्सीले ११ सय ५१, ६८ सेन्ट अमेरिकी डलर अर्थात १७ सय ५० अस्ट्रेलियन डलरमा उडान भर्न तयार भएपछि यस अघिको चार्टर्ड उडान भन्दा सस्तो भाडामा अस्ट्रेलियामा अड्कीएका बाँकी नेपालीहरु घर फर्कन पाउने भएका छन ।

नयाँ भाडा १७ सय ५० डलर

अस्ट्रेलियाका तीन शहरबाट जुलाई १४ मा हुने उडानका लागि यात्रुहरुले १७ सय ५० अस्ट्रेलियन डलर भाडा तिर्नुपर्ने हुन्छ । दुई बर्ष मुनिका बच्चाहरुका लागि भने एक सय १७ डलर मात्र भाडा लाग्ने छ ।

पर्थवाट नेपाल फर्कने चाहने नेपालीहरुले भने तोकिएको भाडामा एक सय ५० डलर थप गरे उनिहरुलाई पनि सोही बिमानमा फर्काउन सकिने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका महासचिव डाक्टर ज्ञानेन्द्र रेग्मीले बताए ।

तीन शहरबाट एकसाथ उडान

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कडंका अनुसार पहिलो उडान जुलाई १४ मा सिड्नी, ब्रिजबेन तथा मेलर्बनबाट हुने छ भने सोही दिन ब्यवसायिक उडान मार्फत सिंगापुर एयरले यात्रुहरुलाई अस्ट्रेलियाको तोकिएका शहरवाट सिंगापुर लैजाने तथा सिंगापुरबाट सिल्क एयरको चार्टर्ड बिमान माफर्त काठमाडौं पु¥याईने बताइएको छ ।

उडान तालिका

जुलाई १४ मा सिंगापुर एयरले सिड्नीबाट बेलुका ८ः२५ मा यात्रु लिएर ब्रिसवेनको उडान भर्ने छ भने भने सोही दिन राति ब्रिसबेनबाट ११ बजे सिंगापुर उडान भर्ने तालिका रहेको छ । मेलबर्नबाट राति ११ः५० बजे उडान हुने छ । उक्त विमान सिधै सिंगापुरका लागि उड्ने छ ।

अस्ट्रेलियाबाट हुने यी दुबै उडान ब्यवसायिक हुन भने सिंगापुर देखि काठमाडौ सम्म सिल्क एयरको चार्टर्ड उडान हो । यात्रुहरुको आकर्षणलाई हेरी दोस्रो उडान पनि गर्न सकिने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कडंले बताए ।

उडान अनुमति आउन बाँकी

नेपाली दुताबास क्यानवेरा मार्फत उडान अनुमतिका लागि नेपाल सरकारलाई पत्र पठाई सकेको दुताबासले जानकारी दिएको छ । तर उडान अनुमति अगाबै टिकट विक्रि शुरु गरिएको छ । नेपाल सरकारबाट उडान अनुमति आउछ भन्ने बिश्वासका साथ टिकट बुकिङ्ग खुला गरिएको गैर अवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष कंडेलले बताए ।

६ वटा ट्राभल्स ऐजेन्सीको संयुक्त प्रयास

ब्यवसायिक उडानको भाडादरमा चार्टर्ड उडान गराउन सक्ने ट्राभल्स ऐजेन्सीहरुमा एभरेष्ट टाभल्स एण्ड र्टुस, काठमाडौ ट्राभल्स, हिमालय एक्सपेरियन्स, ट्राभल्स पाटनर्स सिडनी, दा भिन्ची ट्राभल्स काठमाडौ र सुमेघ ट्राभल्स काठमाडौ रहेका छन । १३ वटा एजेन्सीले आशयपत्र हालेकोमा ६ वटा मात्र छनोट भएका थिए ।

गैर आवासीय नेपाली संघका युथ संयोजक ईर्साद अहमदका अनुसार छनोट भएका ट्राभल्स ऐजेन्सीहरुले सस्तो भाडाका लागि सहजिकरण गरेवापत २५ डलर मात्र सेवा शुल्क पाउने छन् । यात्रुहरुले एनआरएनएकै खातामा टिकटको पैसा पठाउनुपर्ने छ र संघले नै एयरलाइन्सलाई उडान बापतको पैसा बुझाउने छ ।