MENU

सांसद पार्वता डिसी चौधरीविरुद्ध संघीय संसद सचिवालयमा ठगीको उजुरी

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य सांसद रहेकी पार्वता डिसी चौधरीविरुद्ध संघीय संसद सचिवालयमा ठगी गरेको भन्दै उजुरी परेको छ ।

 

 

दाङका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले चौधरीले आफूहरुसँग एक पटक ३ लाख र अर्को पटक ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर फिर्ता नगरेको भन्दै संसद सचिवालयमा उजुरी दर्ता गरेका हुन् ।

 

सांसद चौधरीविरुद्ध उजुरी दर्ता गर्ने पाण्डे बाँकेको तत्कालीन गढवा गाविसका कांग्रेस पार्टीको उपसभापति भइसकेका व्यक्ति हुन् ।

 

 

पाण्डे र थापाद्वारा दायर गरिएको उजुरीमा सांसद चौधरीले २०७४ सालमा शुरुमा ३ लाख र पछि ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर पटक पटक आग्रह गर्दा पनि फिर्ता नगरेको उल्लेख गरिएको छ ।

 

 

रकमको विषयमा पार्टी भित्रै पनि पटक पटक उजुरी तथा गुनासो दर्ता गराउँदा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ ।

 

 

उजुरीमा सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेको उल्लेख गर्दै उनलाई झिकाएर आफ्नो रकम दिलाइदिन माग गरिएको छ ।