MENU

सुपरलाई राम्ररी बुझौ

Chura Mani Belbase
Qualified CPA, Registered Tax Agent

सुपर भनेको तपाइ हाम्रो रिटाएरमेन्ट पछि खर्च गर्न सकिने गरि छुट्टाईएको रकम हो । सुपर सम्बन्धी छुट्टै  कानुनी ब्यबस्था छ र सो अनुसार यदि तपाईले महिनाको ४५० डलर भन्दा बढी कमाउनु हुन्छ भने रोजगारदाता कम्पनी वा ब्याक्तीले अनिबार्य रूपमा तलबको कम्तीमा पनि ९.५% ले हुने रकम तपाईको सुपर खातामा जम्मा गर्नै पर्ने हुन्छ।

यो तपाईको तलबबाट काटेर आउने भन्दा पनि तलबमा रोजगारदाताले थपेर दिने रकम हो । त्यसकारण यो रातारात जम्मा हुने पैसा भन्दा पनि जीवन भरी काम गर्दैजाँदा रोजगारदाताले जम्मा गरिदिएको, नियमानुसार आफैले पनि थप गरेको र सन्चित रकम सुपर कम्पनीले बिभिन्न प्रोटफोलियो बनाएर लगानी गर्दै बढाउदै लगेर जम्मा हुने रकम हो । त्यसैले अरु ब्यापार नगरी चुप लागेर बस्नेको लागि सुपर भनेको जिन्दगीकै सबैभन्दा ठुलो लगानी हो भन्दा पनि हुन्छ ।

सुपर शुरु देखि नै किन बचाएर राख्नु पर्यो त ? सरकारले बुढेसकालमा पेन्सन दिन्न र ?

बुढेसकालमा सरकारबाट पाइने पेन्सन भनेको तपाईसँग त्यतिबेला हुने सम्पती वा आम्दानीमा भर पर्दछ । टेस्टमा सम्पती/आम्दानीको कारणले पेन्सन नै नपाऊने पनि हुन सक्छ, कती सम्पती/आम्दानी हुँदा कती पाउने वा नपाऊने भन्नेमा अर्को पटक कभर गरौला । यतिचाँही बुझौकी यदि प्रसस्त अचल सम्पती छ, सम्पती टेस्टको कारणले सिस्टमले पेन्सनको लागि योग्य गर्दैन त्यसकारण सरकारबाट सुको झर्दैन, छोरा छोरीहरु लाखापाखा लागी सके, उमेर र रोगले च्यापेर भएको सम्पतीलाई बेचबिखन गरेर छाटकाट गर्ने उपाय र आट पनि छैन।

यसले गर्दा चिया कफी, सामान्य घुमफिर र घरको खर्च धान्न समेत गार्हो भएको अबस्था आऊन सक्छ, यो भनेको बाच्ने गरीब भएर र मर्ने धनी भएरको अबस्था हो। यस्तो अबस्था कसरी आउछ,  नआऊनको लागी के गर्ने भन्दा कुरा आउछ फाईनान्सियल प्लानको, यो कुरा धेरै महत्वपुण छ तर हामी र हामी जस्तै बसाईसराइ गरेका समुदायले स्वीकार गरी सकेका छैनौ ।

हाम्रो दैनिकी भनेको जिन्दगी भरी काम गर्दै घरहरु थप्दै गयो,  काम गर्दा गर्दै बेचौ भने यता कामको आम्दानी, अनि अलिकती घरमा बढेको क्यापिटल गेनको आम्दानीले धेरै ट्याक्स तिर्नुपर्ने डरले कसरी हुन्छ तछाड मछाड गर्दै बरू लोन पनि थप्दै गयो घरहरु पनि थप्दै गयो। घरै नकिन्नु,  सम्पती नै नजोड्नु भन्न खोजेकोहोईन, यो त लाईफको महत्वपुर्ण पाटो हो तर यसलाई कसरी डिभर्सीफाइ गर्ने र ब्यबस्थीत गर्ने अनि करलाई कसरी कानुन सम्मत न्युनिकरण गर्ने र भोलि  अवकासको ऊमेरमा सरकारबाट पाइन सकिने सुबिधाहरूको लागी कसरी सहजीकरण गर्ने भन्ने हो।

उदाहरणकोलागी ईन्भेस्टमेन्ट प्रोपटीमा लगानी गर्दा एउटै प्रोपटीमा थुप्रै रकम खन्याएर तिन लाख फाइदा आउने छ भने त्यही रकमलाइ बाडेर तिनवटा प्रोपटीमा लगानी गरी एक एक लाख फाईदा गर्दा टुक्राएर बेच्न पनि पाइयो, फरक फरक बर्षमा बेच्दा कम ट्याक्स रेटमा परिने सम्भावनापनि भयो । त्यस्तै सबै पैसा प्रोपटीमा मात्र लगाउनु भन्दा केही रकम डिभिडेन्ट दिने खालका भरपर्दा कम्पनीहरुका शेयर किन्दा क्यासफ्लोपनि हुने, थोरै थोरै जति चाहिन्छ त्यती बेच्न पनि मिल्ने र रकम कम हुदा ट्याक्स पनि बचाउन सकिने हुन्छ ।

यो त प्लानिंगको अभाबले कसरी बुढेसकालमा पाउन सकिने सुबिधा गुम्न सक्छ अनि ट्याक्स पनि बढी तिर्नु पर्ने हुन सक्छ भन्ने भयो ।

अब सुपर मै जाऊ,  यदि पेन्सननै पाउनु भयो भने थोरै रकम हुन्छ र सो थोरै पेन्सनले सामान्यतया लाइफस्टाईल कायम राख्नको लागि नपुग हुन्छ। यो कुरा सरकारलाई पनि थाहा छ, त्यसकारण नागरीकहरुलाई ट्याक्समा सहुलियत दिएर भएपनि निस्चित रकम सुपरमा आफैले थपेर राख्न पाउने प्राबधान राखिएको छ जसले सुपरको ब्यालेन्स बढोस।

त्यसो भए अहिले सरकारले किन सुपर निकाल्न दिने ? त्यो पनि ट्याक्स फ्री भनेको छ त ? निकाल्दा ठिक की बेठिक ?

माथी भने झै, सुपर भनेको हाम्रो रिटायरमेन्ट लाईफको ब्याकबोन नै हो । त्यसकारण पनि सुपर सम्बन्धी रेगुलेसनहरु अति नै कडा छन। अहिले सरकारले सदासयका साथ यदि कोरोना भाइरसका कारणले मर्का नै परेको हो भने एउटा अर्को उपाय सुपर झिक्न दिएकाे छ  ।

यदि तोकिएको मापदण्ड भित्र परिन्छ भने सुपर निकाल्न सकिन्छ भनेर दिएको सुबिधा हो। यसको इन्टेन्सन भनेको साच्चीकै मर्का नै परेको छ भने निकालन त भनेर प्रदान गरेको सदासयता मात्र हो अधिकार होइन। मेरो अनुरोध, तोकिएको मापदण्ड जतातै उपलब्ध छ त्यसलाइ दुईचोटी पढ्नुस र निर्णय लिनुस। यदि नपाउने हो भने नलिनुस, अहिले तपाइको डिक्लेरेसनको आधारमा भुक्तानी भएको छ।

अब के हुन सक्छ त?

अस्ट्रेलियाको ट्याक्स सिस्टमदेखी लिएर थुप्रै कुराहरु सेल्फ डिक्लेरेसनमा आधारित छन । मतलब थुप्रै कुराहरू बिश्वासको आधारमा चल्छन, तर उनीहरूले चेक गर्यो र बिश्वासघात भएको पाइएमा त्यसको मुल्य चुकाउन महंगो पर्ने हुन सक्दछ। उदाहरणको लागी ट्याक्सरिटर्न गर्दाका सबै बिलहरु ट्याक्स अफिसमा पठाउनु त पर्दैन तर आफुसंग रेडी हुनुपर्दछ।

हालै The new daily मा प्रकासित समाचार अनुसार झण्डै ४०% मानिसहरूले आम्दानी नै नघटी सुपर  निकालेको र सो रकम जुवातार र अरु ऋण तिर्न प्रयोग भएको रिपोर्ट सहितको समाचार बाहिरिएको छ र अपोजिसन लेबरले मापदण्ड नै चेक नै नगरी सुपरको पैसा बाँडेको आरोप सरकारलाई लगाएको छ र Shadow Assistant Treasure Stephen Jones ले त ट्याक्स अफिसलाई स्पोट चेकर  more rigorous data matching को माग गरेका छन् । उनले माग गरे पनि नगरे पनि ट्याक्स अफिसले डाटा म्याचिंग  त  गर्छ नै ।

अन्तीममा

यदि योग्य हुनुहुन्छ र साच्चीकै खाँचो हो भने ढुक्क संग सुपर निकाल्नुस। अझ बिधार्थी वा अरु भिसामा हुनुहुन्छ  र सधैको लागि नेपाल फर्कने मनस्थितीमा हुनु हुन्छ भने नछोड्नुस किनकी अहिले ट्याक्स फ्री हो पछि  निकाल्दा ट्याक्स तिर्नुपर्ने हुन्छ।

होइन यदि ईलिजिबल हुनुहुन्न भने  पैसा सबैलाई चाहिएको हुन्छ सुपरको रूल निकै कडा छ  । सही काम गर्ने बानी पनि बसाल्नु पर्छ आखिर आफ्नै पैसा हो, अहिले उमेर छ खाँचो टार्ने अरु उपायहरु पनि भेटिन्छन।

आखिर यो पैसा बढ्दै जाने हो यो पैसाको महत्व तपाइको रिटायरमेन्ट उमेरमा बढी हुनेछ (लेखेर राख्नुस) जब अरु आम्दानीका नाकाहरु बन्द हुन्छन र आफु परिस्थितीबस एक्लिदै गइन्छ। त्यतिबेला सुपरको महत्व बल्ल थाहा पाईन्छ। त्यतिबेला ऊमेर अनुसार ट्याक्स रिलिफ पनि हुन सक्छ

सुपरएनुएसनको बारेमा माथिका उल्लेखित सबै कुराहरु सामन्य जानकारीमात्र हुन् । तपाइलाई यो विषयमा थप विस्तृत जानकारी आवश्यक भएमा तालिम प्राप्त र ब्यवसायिक टेक्स अकाउण्टेन्ट सँग परामर्श लिन सक्नुहुनेछ ।

लेखक अस्ट्रेलियामा रजिस्टर टेक्स एजेन्ट तथा सिपिए हुन् ।

[email protected]