जिन्दगीमा नसोचेका, नसम्झिएका घटनाहरु हुन्छन तिनै घटना महत्वपूर्ण र अविश्मरणीय बन्छन् । तिनै घटनाहरुले अनुभवका श्रृङ्खला उत्पति गर्छन् अनि कथाको स्वरुप लिन पुग्छन् । त्यस्तै भयो मेरो जिन्दगीमा पनि । म र मेरो परिवारको लागि अत्यन्तै अपत्यारिलो एउटा क्षणको जन्म भयो । यो वास्तविक घटनाको भोगाइले एउटा पाठ मात्र सिकाएन, त्यसले जिन्दगी जिउनुको यथार्थ महसुस गरायो । यो महसुस, भोगाई र वास्तबिकताको सिकाई अरुमा बाँड्ने रहर बढ्न थाल्यो, फलस्वरुप ती भोगालाई कथाको रुप दिन मेरा कलम र कापी उत्साहित भएका छन् ।
अस्ट्रलियाको जीवन शैली, भौगोलिकता र सन्दर्भको आधारमा यस्ता घटनाहरु सामान्य पनि हुन सक्छन भने कुनै अवस्थामा यी अत्यन्त महत्वपूर्ण र चुनौतिपूर्ण पनि हुन्छन् । घटनाको ज्ञानको अभावको कारण चुनौतिपूर्ण र तनावपूर्ण पनि हुनुका साथै सामना गर्ने क्षमताको पनि कमी हुने र निराशापन बढ्ने पनि हुन्छ ।
यद्यपी यस्ता घटनाहरु जिन्दगी जिउनको लागि र परिवार सिर्जना गर्नको लागि बनेका महत्वपूर्ण पाटाहरु हुन । सहज रुपमा लिन सके, अनुसन्धान मार्फत ज्ञान लिन सके यस्तै घटनाबाट सबैभन्दा खुशी र सन्तुष्टिको अभाष मिल्छ । कुरा हो, हाम्रै परिवारमा जुम्ल्याह बच्चाहरुको जन्म । अन्यन्तै अनौठो र अकल्पनीय यो अवस्थालाई हामीले जिन्दगीको महत्वपूर्ण घटनाको रुपमा लिएका छौ ।
वर्तमान अवस्थामा, विशेषगरी बिदेशमा जुम्ल्याह बच्चाहरु जन्मनु त्यती असामान्य होइन । तर पनि नेपाली समाजमा यस्ता विषयको ज्ञान निकै कम मात्रामा हुने हुँदा यो घटनालाई हामीले असामान्य जस्तो महसुस गरेका हौं ।
दुई सन्तानका धनी भइसकेका हामी, जब जुम्ल्याह बच्चाहरु मेरो गर्भमा भएको अबगत भयो हामीले सहजै स्वीकार्न सकेनौ । यसका पछाडी धेरै कारणहरु छन् । न त हामीले कहिल्यै जुम्ल्याह बच्चाहरु जन्माउने सोच्यौ न त हाम्रो परिवारमा देख्यौ । हामी दुवैको पारिवारिक इतिहासमा नभएको हामीबाट सुरुवात हुँद हाम्रा मनमा धेरै खालका प्रश्नहरु उब्जिए । एकल सन्तानको जन्म र पालन पोषणको जुम्ल्याहको तुलनामा निकै सहज थियो । जसले जुम्ल्याहको जन्म दिनुभयो वा दिने क्रममा हुनुहुन्छ उहाँहरुको मनमा पनि यस्तै प्रश्नहरु उब्जिएको हुनुपर्छ ।
जुम्ल्याह बच्चा कसरी जन्माउने, कसरी हुर्काउने, कसरी आमाको दुध खुवाउने, बच्चाहरु शारीरिक वा मानसिक रुपमा तन्दुरुस्त होलान, नहोलान जस्ता अनगिन्ति प्रश्नहरुले मन मस्तिष्कलाई गिजोल्दा रहेछन् । अर्कोतिर बिदेशमा बच्चा जन्माउदा धेरै कुराहरुको योजना र ब्यवस्था गर्नु उतिकै जरुर हुन्छ । हामीले कुनै पनि योजना नगर्दा नगर्दै जुम्ल्याहाको बाबुआमा बन्ने भयौं भन्ने अर्को सोचाइ थपियो ।
योजना भन्नाले विशेष गरी अस्ट्रेलियामा कहिले या कुन महिनामा बच्चा जन्माउने, काममा बिदा कसरी मिलाउने, आर्थिक अवस्थाको मेलोमेसो कसरी गर्ने भन्ने कुराहरु पर्दछन् ।
अचम्मको कुरा अंग्रेजी महिनाको जुलाई अन्तिम दिन यानेकी ३० तारिखसम्म जन्मिएका बच्चाहरु त्यही वर्ष स्कुल जान पाउँछन् । जब उनीहरु पाँच वर्ष लाग्छन् । त्यसपछि जन्मेका बच्चाहरुको अर्को वर्ष या त छ वर्ष लागेपछि मात्र किन्डर गार्डेन सुरु हुन्छ । यो एउटा महत्वपूर्ण कुरा हो । बच्चा जन्माउनु भन्दा अगाडि यस्ता कुरामा पनि योजना गर्नै पर्ने । हाम्रो योजना बिहीन जुम्ल्याहाको जन्मने मिति भने जनवरीमा परेकाले त्यति अफसोच भएन तर जन्मने मितिको निर्णय नहुँदा सम्म मनमा यो कुराले पनि पिरोलि रहेछ ।
त्यसैगरी काम गर्ने, आफ्नो करिअरमा पूर्ण रुपमा लागेकी एउटी आमाको लागि दुईभन्दा बढी बच्चाहरुको हेरचाह गर्नु अत्यन्तै चुनौतीपूर्ण हो । त्यसैमा जुम्ल्याहा बच्चाको आगमन हुँदैंछ भन्दा मस्तिमा प्रश्न तेर्सियोे कि कसरी कामलाई निरन्तरता दिने ।
नेपालको सन्दर्भमा चार जना बच्चा या त जुम्ल्याहा बच्चाको रेखदेख गरी आमाले आफ्नो करिअरलाई निरन्तरता दिन त्यति कठिन नहुन सक्छ । जति विदेशमा हुन्छ । किनकी संयुक्त परिवारको बसाइँ अनि आफन्तको मद्धतले गर्दा त्यहाँ सहज हुन्छ ।
अस्ट्रेलियामात्र होइन विदेशका जतापनि बच्चाको रेखदेख सहित आमाले आफ्नो करिअर पहिलाको जस्तै गर्न अत्यन्तै कनिठिन हुन्छ । किनकी आफन्तको आभाव, कामको भिन्नै जिम्मेवारीहरु अनि प्रत्येक दिनका समश्या र योजनाले समश्याका पहाड खडा गर्छन् ।
समय वित्दै जाँदा ती प्रश्नको उत्तर मिल्ने मात्र होइन कि निकै जटिल अवस्था पनि समान्य बन्दै जाँदो रहेछ । त्यसैले मैले गरेको अनुभव, भोगको र सिकेका अनुभूतिहरुलाई बाड्ने निर्णय गरे र यो लेख शुरु गरेकी छु ।
जुम्ल्याह बच्चाहरु गर्भमा रहँदादेखी तिनिहरुको अवस्था, आमाले भोग्नुपर्ने कठिनाईहरु साथै बच्चाहरुले व्यहोर्नुपर्ने अवस्थालाई उल्लेख गर्दै व्यथा र जन्मको पूर्ण विवरण लेख्ने जमर्को गरेकी छु । आशा छ यो लेखाइबाट जुम्ल्याह मात्र होइन, एकल सन्तान जन्माउन खोज्ने आमाबुबाहरुका लागि जानकारी मुलक र सहयोगात्मक लेख बन्नेछ ।
नेपाली समाजमा सम्बन्धित विषयहरु अध्ययन गरी ज्ञान आर्जन गर्ने भन्दापनि परम्परागत रुपमा बुबाआमाबाट सिकाइको ज्ञानको आधारमा बच्चा जन्माउने चलन यथावत नै छ । यस्तो अवस्थमा विदेशमा बच्चा जन्माउदा, आफ्ना आमाबुबा र परिवारबाट टाढा भई ज्ञानको अभाव रहेको र जसको बाबजुद धेरै अनभिज्ञ भएको गुनासो मैले सुनेकी पनि छु ।
आगमी दिनमा मेरो नियमित स्तम्भ अन्र्तगतका लेखमा यि विषयमा उत्पन्न साझा सोचाई, अनुभव र त्यसको निराकरणका लागि मैले गरेको अध्ययन र सिकाइ उल्लेख गर्नेछु । जसले तपाइका जिज्ञाशाहरुलाई समेट्न सहयोग गर्नेछ भन्ने आशा लिएको छु ।
लेखक शर्मा चार जना बच्चाकी आमा र पेशाले रजिस्टर नर्स तथा नर्सहरुलाई तालिम दिने शैक्षिक संस्थाकी संचालक पनि हुन् ।