MENU

राजदूत बडद्वारा नेपाल र अस्ट्रेलियाबीच सिधा व्यवसायिक हवाइ सेवा संचालन हुने विश्वास व्यक्त

His Excellency Ambassador Pete Budd paying farewell call on the Speaker of the House of Representative
His Excellency Ambassador Pete Budd paying farewell call on the Speaker of the House of Representative

काठमाडौं – नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत पिटरले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाइ भेटघाट गरेका हुन् ।

बिदाइ भेटका क्रममा राजदूत बडले आफ्नो साढे तीन बर्षे नेपाल बसाइ सुखद् भएको जानकारी दिँदै स्वदेश फर्केपछि पनि सम्बन्ध बलियो बनाउन लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सीधा हवाइ सेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । दुई देशबीच सहकार्यको लामो इतिहास रहेको चर्चा गर्दै राजदूत बडले आगामी दिनमा अस्ट्रेलियाबाट उर्जा क्षेत्रमा थप लगानी हुने जानकारी दिए ।

‘नेपाल र अस्ट्रेलिया दुवैले जलवायु सम्बन्धि समान संकटको सामना गरिरहेको छ,’ राजदूत बडले भने, ‘नेपालमा हिमतालको चुनौती छ, हामी आगलागीको सामना गरिरहेका छौं ।’ उनले जलवायु परिवर्तन र मानव अधिकारका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।

भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गरेको योगदानको प्रशंसा गरे ।

उनले नेपाल र अस्ट्रेलिया दुवै देश कोभिड १९ र जलवायु परिवर्तन चुनौतीको सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनु पर्नेमा जोड दिए ।

सभामुख सापकोटाले हालै नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गरे ।

उनले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्ट्रेलियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास समेत व्यक्त गरे ।

सभामुख सापकोटाले नेपालमा अस्ट्रेलियाले सुरु गरेको सामुदायिक वनको अवधारणा गृह जिल्ला सिन्धुपाल्चोकबाटै सुरु भएको स्मरण गर्दै आफूले सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दा सो क्षेत्रलाई वन अध्ययन केन्द्रका रुपमा अघि बढाएको स्मरण गरे ।