MENU

अमेरिकाले रूसलाई युक्रेनसँग युद्ध गराउन खोजेको पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशलाई युक्रेनसँग युद्ध गराउनका लागि अमेरिकाले कोसिस गरिरहेको दाबी गरेका छन् ।

युक्रेन संकट शुरू भएपछि आएको पुटिनको टिप्पणीमा अमेरिकाले युद्धको बहाना बनाएर रुसमाथि थप प्रतिबन्ध लगाउन खोजेको बताए ।

युरोपमा नेटो गठबन्धनका बलहरूका सम्बन्धमा रुसले देखाएको चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पनि उनले बताए ।

मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।

युक्रेनलाई नेटोको सदस्य बन्न दिँदा नेटोका अन्य सदस्यहरू रुससँगको युद्धमा होमिन सक्ने संकेत उनले गरे ।

‘युक्रेन नेटोको सदस्य भएको अनुमान गर्नुस् अनि क्राइमिया फिर्ता लिनका लागि सैन्य कारवाही शुरू हुन्छ,’ पुटिनले भने ।

अमेरिकाको मूलधारे परराष्ट्रनीतिमा क्राइमिया फिर्ता लिनका लागि पैरवी गर्नेहरूको बहुमत छ । तर यसबारेमा पुटिन एकदमै गम्भीर छन् ।

‘युक्रेनको आफ्नै दस्तावेजमा पनि सैन्य उपाय अपनाएर भए पनि क्राइमिया फिर्ता लिने योजना रहेको लेखिएको छ,’ पुटिनले भने ।

नेटोमा युक्रेनको प्रवेशबाट तेस्रो विश्वयुद्धको बाटो खुल्ने पुटिनको आशय देखिन्छ ।

युक्रेनले आफ्नो सैन्य दस्तावेजलाई अपनाउने हो भने नेटो साझेदार र हतियारको सहायता आउनेछ । अनि युरोप पूर्ण युद्धमा होमिनेछ ।