MENU

अस्ट्रेलियाकाे नागरिकता सम्बन्धि परीक्षा संसाेधन हुँदै; के हुन थप गरिने पाँच प्रश्न ?

 नमूना प्रश्नहरु
  • मतदान गर्नु किन सबै नागरिकको लागि आवश्यक छ ?

  • के अस्ट्रेलियाको सबै नागरिकले अंग्रेजी सिक्न प्रयास गर्नुपर्छ ?

  • के अस्ट्रेलियामा धार्मिक कानूनले अस्ट्रेलियाकाे कानूनलाई छायाँमा पार्छ ?

Photo Credit: AAP

सिड्नी । अस्ट्रेलियाकाे संघीय सरकारले देशको मूल्यमान्यता सम्बन्धि प्रश्नहरु थप्दै नागरिकता परिक्षालाई पुन संशोधन गर्दैछ ।

नोभेम्बरको मध्ये देखि परिक्षामा २० वटा बहु वैकल्पिक प्रश्नहरुमध्ये पाँचवटा प्रश्न आपसी सम्मान, समानता र लोकतन्त्रको मूल्यहरुको बारेमा रहनेछ र उम्मेदवारहरुले राष्ट्रिय मूल्यमान्यतासँग सम्बन्धित सबै प्रश्नहरुमा सफल हुनुपर्नेछ । विगत एक दशकभन्दा लामो समयपछि पहिलो पटक सो परिवर्तन गर्न लागिएकाे हाे ।

प्रधानमन्त्री स्कट मरिसनले सुधार गरिएको परिक्षामा सम्भावित नागरिकका लागि अंग्रेजी भाषाको सिपका लागि अझ बढी जोड दिइने बताए । “म अध्यायगमन मन्त्री तथा सामाजिक सेवा मन्त्री हुँदा मैले के सिके भने अंग्रेजी भाषामाथि राम्रो पकड भयो भने  अस्ट्रेलियामा  आप्रवासीलाई रोजगारीमा चाडो वृद्धि हुन्छ । अस्ट्रेलियामा  उत्तम जीवन जिउनका लागि पनि अंग्रेजी भाषाको ज्ञान महत्वपूर्ण सिप हो ।” प्रधानमन्त्री मरिसनले भने ।

आप्रवासन, नागरिकता, आप्रवासी सेवा र बहुसांस्कृतिक मामिलाका कार्यवाहक मन्त्री एलन टुजले परिक्षाका  लागि थपिएका नयाँ प्रश्नहरु महत्वपूर्ण रहेको बताए । “हाम्रो अस्ट्रेलियाली मूल्यमान्यताहरु महत्वपूर्ण छन्  र यसले हाम्रो देशलाई एक आकार दिन मद्दत गरेको छ । यही कारणले अधिकांश मानिसहरु अस्ट्रेलियाकाे नागरिक बन्न चाहन्छन्,” टुजले भने ।

नागरिकता परिक्षामा  नयाँ तथा अर्थपूर्ण प्रश्नहरु छन् जसले सम्भावित नागरिकहरुलाई अभिव्यक्ति स्वतन्त्रता, आपसी सम्मान, अवसरको समानता, प्रजातन्त्र र कानूनको शासनबारे  बुझ्न  प्रतिवद्ध बनाउने उनले बताए ।

कोभिड-१९ महामारीको कारण विभिन्न खाले प्रतिवन्धका कारण पनि मार्च ३१ तारिखदेखि हालसम्म ८५ हजार भन्दा बढी मानिसहरु अस्ट्रेलियाकाे नागरिकता लिएका छन् ।