MENU

जेफ बेजोसको विलासी जहाजका लागि ऐतिहासिल पुल भत्काइदै

संसारका दोस्रा सर्वाधिक धनी अर्बपति तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसको विलासी जहाजका लागि नेदरल्यान्ड्समा रहेको ऐतिहासिक पुल भत्काइने भएको छ ।

पुल भत्काउने पैसा बेजोस आफैंले दिने भएका छन् ।

बुधबार नेदरल्यान्ड्सको तटीय शहर रोटरड्यामको स्थानीय सरकारले यसको जानकारी दिएको थियो ।

बेजोसको ४३ करोड युरो मूल्यको सुपरयाटलाई बाटो दिनका लागि १४४ वर्ष पुरानो कोनिङ्सहाभेन पुलको एक भाग भत्काउन लागिएको हो ।

सन् १८७८ मा बनाइएको यो सुन्दर पुलमाथि नाजीहरूले दोस्रो विश्वयुद्धका क्रममा बमवर्षा गरेका थिए । पछि त्यसलाई फेरि बनाइएको थियो ।

बेजोसको विलासी जहाज रोटरड्याम नजिक रहेको अलब्लासेरड्याममा बनाइँदैछ । जहाजलाई समुद्रसम्म लैजानका लागि पसल भत्काउनुको विकल्प नरहेको रोटरड्याम मेयरका प्रवक्ताले बताए । बेजोसको ४० मिटर अग्लो सुपरयाटलाई बाटो दिन पुलको बीचको भाग हटाइनेछ ।

यो खबर सार्वजनिक भएपछि स्थानीयहरू आक्रोशित भएका छन् ।

सन् २०१७ मा मात्र यस पुलको मर्मत गरिएको थियो । त्यतिखेर स्थानीय परिषद्ले यस पुललाई कहिले पनि नभत्काउने प्रतिज्ञा गरेको थियो ।

तर, मेयरका प्रवक्ताले पुलबाट जहाज गएपछि पुललाई फेरि मर्मत गरिने बताएका छन् ।