MENU

सिड्नीमा नेपाली समुदायका १५ जनामा कोरोना संक्रमण; अनिवार्य परिक्षण गर्न सरकारको आग्रह

Mana Rishi Dhital
An editor at Nepalese Australian
  • नेपाली समुदायमा संक्रमित संख्या बढ्नु चिन्ताजनक ।
  • परिक्षण गर्दा झन्झट नमानौ ।
  • आर्थिक समस्या भएमा सरकारले सहयोग गर्छ ।

सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा हालै बढेको कोरोना महामारीको दोस्रो लहरमा १५ जना नेपाली संक्रमित भएका छन् ।

नेप्लीज अस्ट्रेलियन एसोसिएसनले बुधवार साँझ सिड्नीमा आयोजना गरेको नेपाली समुदायका अगुवाहरुको बैठकमा उपस्थित भएर यहाँको स्वास्थ्य विभागकी अधिकारी डा मेरियान गेइलले संक्रमित हुने १५ जना नेपाली युवा पुस्ताका रहेको बताइन् ।

न्यु साउथ वेल्स सरकारले दुई हप्ताको लागि जारी गरेको लकडाउन एक हप्ता अरु बढाउने निर्णय गरेकै दिन यो तथ्यांक सार्बजनिक भएको छ ।

कोरोनाको दोस्रो लहरमा संक्रमित भएका उनीहरु मध्‍ये अधिकांश अस्पताल र वृद्ध स्याहार केन्द्रमा कार्यरत भएको खुलेको पनि डा गेइलले बताइन  ।

डा गेइलले भनिन्, “महामारीको समयमा नेपाली समुदाय र सदस्यहरुले धैर्यतापूर्वक यो कठिन परिस्थितिको सामना गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर समस्यामा परेका आफ्नो समुदायका मानिसलाई नेपाली संघसँस्था तथा स्वयाम्सेवकहरुले गतबर्षको संकटका बेला ठूलो सहयोग गरेकोमा म समुदायको प्रसंशा गर्दछु ।”

डा गेइलले अस्ट्रेलियामा कोरोना संक्रमण बढिरहेकाले कोरोनाको सामान्य लक्षण मात्र देखिँदा र संक्रमितसँग भेटघाट भएको शंका मात्रै लागे पनि तुरुन्त परीक्षण गराउनु पर्ने संदेश समुदायमा पुर्याउन नेपाली नेताहरुलाई आग्रह गरेकी पनि थिइन् ।

अस्ट्रेलियाको स्वास्थ्य क्षेत्र तथा वृद्ध स्वाहार केन्द्रमा हजारौ नेपाली कार्यरत रहेकोले पनि यहाँको सरकारलाई यो निकै चिन्ताको बिषय भएको सहजै अनुमान गर्न सकिन्छ ।

कोरोनाको परिक्षण बढाउन अग्रह

पश्चिम सिड्नीका सबअर्वहरूमा बसोवास गर्ने नेपालीहरूमा कोरोना संक्रमणको जोखिम अझ धेरै रहेको बैठकमा जानकारी दिएको थियो । अझै प्रभावित इलाकाका नेपाली समुदायका सदस्यहरुले  कोरोना परिक्षण गर्न हिच्किचाहट गरिरहेकाले यहाँको सरकार चिन्तित पनि बनेको छ ।

परिक्षण पछी यदि कसैलाई पोजेटिभ देखिएमा पनि चिन्ता नगर्न र सरकारी स्वास्थ्य आदेशहरु पालना गर्न डा गेइलले अनुरोध गरिन ।

उनले भनिन “हामीलाई थाहा छ यहाँ मानिसलाई बसोबासमा समस्या हुनसक्छ, पोजेटिभ देखिएमा परिवारका अन्य सदस्यालाई संक्रमित हुन जोगाउन आइसोलेशनमा बस्न समस्या भएमा होटेल क्वारेन्टाइनको ब्यस्बस्था पनि गरिने छ र त्यो क्रममा लाग्ने खर्च सरकारले व्यहोर्ने छ”

नेपाली लगायत सबै समुदायका सदस्यहरुलाई सामान्य रुघाखोकीका लक्षण देखिएमा पनि र कोरोना संक्रमितहरुले भ्रमण गरेका स्थान र समयमा कोही निकट भएका भए सबैलाई अनिवार्य परिक्षण गर्न र रिपोर्ट नआएसम्म सेल्फ आइसोलेसनमा बस्न यहाँको राज्य सरकारले निर्देशन दिएको छ ।

आर्थिक समस्या भएमा सरकारले सहयोग गर्छ

नेपाली लगायत नयाँ आप्रबाशी समुदायमा कोरोना परिक्षण गर्न अझै झन्झट र हिच्किचाहट देखिएकाले सरकारले यसमा कुनै समस्या मान्नु नपर्ने बताएको छ । कोरोना परिक्षण गरेर रिपोर्ट आउन्जेलसम्म वा पोजेटिभ देखिएर आइसोलेशनमा बस्नु पर्ने समयमा कसैलाई पनि आर्थिक वा ब्यबहारिक समस्यामा पर्न नदिने बिश्वास पनि सरकारले दिएको छ ।

परिक्षण गर्दा वा संक्रमित पुष्टी हुँदा सम्बन्धित व्यक्ति व्यहोर्नु पर्ने समस्यामा सरकारले के कस्तो सहयोग गर्छ ? भन्ने नेपलिज अस्ट्रेलियनको एक प्रश्नमा डा गेइलले भनिन्, “कोरोना परीक्षण गर्ने र आइसोलेसनमा बस्दा खानपिन, औषधि, चिकित्सक र आवासको समस्या भएका मानिसलाई सरकारले सहयोग गर्ने छ । उनले कसैलाई पनि परिक्षण गरेर  रिपोर्ट आउनेबेलासम्म काम छोड्नु परेको र त्यसले समस्या भएको भए सरकारले आर्थिक सहयोग गर्ने पनि बताइन।”

के भन्छन् नेपाली समुदायका नेता ?

उक्त बैठकमा न्यु साउथ वेल्स हेल्थका पदाधिकारीहरु डा मारियान गेइल, जोएन कोकरन र गायत्री धर्मगेसनले नेपाली समुदायका अगुवाहरुसँग अन्तरक्रिया गरेका थिए ।

अन्तरक्रियामा आफ्नो बिचार राख्दै नेप्लिज अस्ट्रेलियएन एसोसिएसन (एन ए ए)की पूर्व अध्यक्ष एवं सल्लाहकार इन्द्रा बनले यो बिश्व महामारीको समय भएकोले सरकारी प्रतिबन्धहरु र मापदण्ड पालना गर्दै आफू र समुदायलाई सुरक्षित राख्न सहयोग गर्नुपर्ने बिचार राखेकी थिइन ।

यस्तै संस्थका अर्का पूर्व अध्यक्ष एवं सल्लाहकार डा नारायण प्रधानले कोरोनाको सामान्य लक्षणहरु देखिए पनि परिक्षण गर्न आग्रह गरेका थिए ।

संस्थाकी उपाध्यक्ष निशा रानी श्रेष्ठले कोरोनाको खोप कार्यक्रमबारे जिज्ञासा राख्दै खोप ४० वर्ष भन्दा कम उमेर समुहलाई पनि सहज रूपमा दिने ब्यवस्था गर्न सुझाव दिएकी थिइन ।

नेप्लिज अस्ट्रेलियएन एसोसिएसनका महासचिव ऋषि आचार्यले सहजिकरण गरेको उक्त अन्तरक्रिया कार्यक्रममा सँस्थाका अध्यक्ष डा मधु पुडाशैनीले समुदायमा कोरोना परिक्षण बारे जनचेतना बढाउने सामाग्रि उत्पादन तथा बितरण गर्न सुझाव दिदै एन ए ए यो महामारी बिरुद्ध लड्न स्थानिय स्वास्थ्य निकाय र नेपाली सामुदायिक सँस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्ने बिचार राखेका थिए ।

संस्थाका सल्लाहकार भवानी वलीले कोरोना परिक्षण र खोप कार्यक्रमबारे जानकारी दिने नेपाली भाषामा बढी भन्दा बढी स्रोत सामग्रिहरु उत्पादन तथा बितरण गर्न सुझाव दिएका थिए ।

कडा कानूनी कारबाही तथा ठूलो जरिवाना

कोरोना माहामारीको फरक भेरिन्येंट समुदायमा देखीसकेकाले सरकारी आदेशहरुको पालना नगर्नेहरुलाई भने कडा कानूनी कारबाही तथा ठुलो जरिवाना हुन थालेको छ ।

हालैका दिनमा प्रहरीले मास्क नलगाएकोमा अस्ट्रेलियाका उपप्रधानमन्त्री सहित दर्जनौलाई दुई सय अस्ट्रेलियन डलर जरिवाना गरेको छ भने आफ्नो घर छोडेर टाढा जाने कैयौलाई एक हजार अस्ट्रेलियन डलर जरिवाना पनि गरेको छ ।

नेपाली समुदायका लागि लाजमर्दो कुरा यो पनि सार्बजनिक भएको छ कि सरकारी आदेश अटेरी गरेकोले यहाँको एक नेपाली ब्यवसायले पाँच हजार अस्ट्रेलियन डलर जरिवाना तिर्नु परेको थियो र सो को समाचार हालै यहाँका मुख्य संचार सँस्थाहरुबाट सार्बजनिक भएको थियो ।

अरु दर्जनौ नेपालीले चेतावनी र जरिवाना तिर्नु परेको अनौपचारिक खबरहरु नेपलिज अस्ट्रेलियनलाई प्राप्त भएका छन् ।

कोरोना भाइरससँग सम्बन्धित थप जानकारीको लागि यो लिंक जानुहोला