MENU

फेसबुकले दियो अस्ट्रेलियालीहरूलाई समाचार शेयर गर्न प्रतिबन्ध लगाउने धम्की

अस्ट्रेलिया र न्यूजील्याण्डका संचारमाध्यमहरुले  फेसबुक तथा गुगल जस्ता कम्पनीहरुले पत्रकारहरुले गरेको कामबाट फाइदा लिए पनि समाचार पढिएको वा त्यसबाट आएको विज्ञापनको राजस्व आफूहरुलाई नबाडिएको तर्क गर्दै आएका छन् ।

सिड्नी । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियन संचारमाध्यम तथा नागरिकलाई फेसबुक र इन्स्टाग्राममा समाचार सामाग्री राख्नबाट रोक लगाउने चेतावनी दिएको छ ।

अस्ट्रेलियाले  फेसबुक तथा गुगल जस्ता ठूला संजालहरुले अस्ट्रेलियन संचार माध्यमको समाचार सामाग्री राखेवापत रकम तिर्नुपर्ने विधेयक प्रस्ताव गरेपछि फेसबुकबाट यस्तो चेतावनी आएको हो ।

“मानी लिउ यो विधेयक कानूनमा परिणत भए, हामीले नचाहदा नचाहदै अस्ट्रेलियाको संचारमाध्यम तथा जनतालाई स्थानीय तथा अन्तर्राष्ट्रिय समाचारलाई फेसबुक र इन्स्टाग्राममा राख्नबाट रोक्नेछौ,” फेसबुकका अस्ट्रेलिया र न्यूजील्याण्ड हेर्ने प्रवन्ध निर्देशक विल इस्टनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

“यो हाम्रो पहिलो विकल्प होइन, यो हाम्रो अन्तिम विकल्प हो । तर यो आइपर्ने परिणामबाट बचाउनका लागि एउटामात्र उपाय हो किनभने सो कानून तर्कपूर्ण तथा  अस्ट्रेलियाकाे      समाचार र संचार क्षेत्रको दीर्घकालिन जीवन्तताका लागि सहयोगी सिद्ध हुदैन,” उनले भने ।

“हामीले  अस्ट्रेलियाकाे  समाचार व्यवसायमा करोडौ डलर खर्च गरिसकेका छौ तथा विधेयकको छलफलका क्रममा हामीले करोडौ डलर खर्च गर्ने प्रस्ताव पनि राखेका थियौें । हामीले फेसबुक न्यूज पनि अस्टे«लिया ल्याउने अपेक्षा गरेका थियौं । जुन समाचार राख्नका लागि हुनेछ र समाचार राखेबापत प्रकाशकहरुलाई हामीले रकम तिर्नेछौ,” वक्तव्यमा उल्लेख छ ।

गुगलले यसअघि नै  अस्ट्रेलियाका आफ्ना प्रयोगकर्ताहरुलाई खुल्ला पत्र लेख्दै ल्याउन खोजिएको कानूनको विरोध गरिसकेको छ ।

यता संचारमाध्यमहरुले भने फेसबुक तथा गुगल जस्ता कम्पनीहरुले पत्रकारहरुले गरेको कामबाट फाइदा लिए पनि समाचार पढिएको वा त्यसबाट आएको विज्ञापनको राजस्व आफूहरुलाई नबाडिएको तर्क गर्दै आएको छ ।