MENU

बाइडेनको पक्षमा भाेट माग्दै ओबामा

न्यूयोर्क- अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन्।

कोरोना भाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई अब बिदा गर्नुपर्नेमा जोड दिए।

पूर्वराष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउन समेत सवैलाई अपिल गरेका छन्।

डेमोक्र्याट तर्फका उम्मेदवारहरुलाई समर्थन जनाउदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा हाम फालेका ओबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसलाई पनि मतदान गर्न अनुरोध गरेका छन्।

बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भने, ‘उहाँहरुप्रति देशको आर्थिक सुधार र कोरोना भाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उहाँहरूसँग क्षमता पनि छ, त्यसैले तपाईं, हामी सबैले उहाँहरूलाई जिताउनुपर्छ।’ उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्व दिनसक्ने दाबी समेत मतदाताहरू समक्ष गरे।

अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनाबी मैदानमा रहेका छन्। मतदानको दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरु तीव्र भएका छन् भने सभा तथा र्‍यालीहरु धेरै ठाउँमा आयोजना गरिएका छन्। बुधबार आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार वर्ष फेरि खेर फाल्न नहुने टिप्प्णी गरे।

राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्यूनीकरण गर्न धेरै काम गर्न सक्ने हुदाँहुँदै पनि नगरेको उनको भनाइ थियो। उनले अहिलेका राष्ट्रपति ट्रम्पले अविश्वासिला कुरा र व्यवहारमात्रै गरेको र जिम्मेवार हुन नसकेको आरोप लगाए।