MENU

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या करिव लाख

Nepal’s Capital Kathmandu Valley

काठमाडौं उपत्यकामा मात्रै कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १ लाख पुग्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार उपत्यकामा अहिलेसम्म ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

मन्त्रालयका अनुसार तीमध्ये काठमाडौं जिल्लामा मात्रै ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना छन्। तीमध्ये धेरैजसो निको भइसकेका भए पनि अझै काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना भाइरसयुक्त नै छन्।

कूल संक्रमितमध्ये सोमबारसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार पछिल्लो समय सोमबार काठमाडौं उपत्यकामा थप ५०१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये २८९ पुरुष र २१२ महिला छन्।

देशभर भने सोमबार थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा ७३५ पुरुष र ४६२ महिला छन्। यस्तै मन्त्रालयले सोमबार दिउँसो दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर गरेर थप ९ जनाको मत्यु भएको छ भने २ हजार ९ सय ३४ जना निको भएका छन्।

सोमबार थपिएकासमेत देशभर संक्रमितको कूल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने संक्रमितमध्ये १ हजार २३० जनाको मृत्यु भइसकेको छ। यसैगरी सोमबार दिउँसोसम्म संक्रमितमध्ये १ लाख ७६ हजार ३६४ जना निको भएका छन्। अझै देशभर ३३ हजार ३७९ जना निको हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।