सिड्नीमा रहेका विभिन्न सामाजिक सङ्घ सस्थाका प्रतिनिधिहरूले प्रवासमा रहेर नेपाल प्रतिको दायित्व भुल्न नहुने बताएका छन् ।
प्रवासी नेपाली एकता मञ्च, नेपाली समाज अस्ट्रेलिया र जनसम्पर्क समिति अस्ट्रेलियाले संयुक्त रूपमा आयोजनामा गरेको ‘मातृभूमि प्रतिको दायित्व‘ विषयक एक अन्तर्क्रिया कार्यक्रममा अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरूले सो कुरा बताएका हुन् । मातृभूमिको राजनीति, सामाजिक तथा आर्थिक अवस्था के कस्तो हुँदै छ भन्ने बारेमा प्रवासमा रहेका नयाँ पुस्ताहरूले चासो राख्नु पर्नै सहभागी वक्ताहरूले बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली समाज अस्ट्रेलिया प्रवास विशेष समितिका उपाध्यक्ष सुवान चौलागाईले हामी जो जहाँ रहे पनि आफ्नो देशमा के हुँदै छ भन्ने कुरामा चासो राख्न जरुरी रहेको कुरा औलाउदै युवाहरूलाई विदेश आएपछि देश प्रतिको चासो नभुल्न आग्रह गर्नुभयो ।
त्यसै गरी कार्यक्रममा बोल्दै एन आर एन अस्ट्रेलिया उपाध्यक्ष देब गुरुङले आफू र आफ्नो संस्था देशको दुःख तथा विदेशमा समस्यामा रहेका नेपाली सँग रहेको बताउँदै प्रवासमा रहे पनि आफ्नो जीवनभर मातृभूमिको हितमा काम गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष राजन कुमार बस्नेतले आफूहरू सधैँ देशमा सुशासनको पक्षमा रहेको बताउँदै आफ्नो मातृभूमिको विकास र सुशासनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि एन आर एन ग्लोबलका उपाध्यक्ष मन केसीले आफ्नो संस्थाले विश्वभर रहेका नेपालीको दुःखमा साथ दिँदै आएको बताउनु भयो ।
नेपाली समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रवासी एकता मञ्च अस्ट्रेलिया एन एस ड्ब्लु अध्यक्ष अच्युत थपलियाले गर्नुभएको थियो भने सिके भुषालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जनजाति महासङ्घ अस्ट्रेलिया अध्यक्ष अरुण तामाङ, चित्र तुम्बाहाम्फे, विद्यार्थी नेता अनिश ढकाल भरत नेपाल, जनसम्पर्क समिति अस्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ् शेर्पा र सुरेन्द्र सिग्देल लगायतले मातृभूमि प्रतिको दायित्वको बारेमा बोल्नुभएको थियो ।