MENU

बेलायतको स्थानीय निर्वाचनमा पाँचजना नेपालीमूलका उम्मेदवारहरू विजयी

Local Election UK and Nepalese Candidate
बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा ५ जना गैरआवासीय नेपाली उम्मेदवारहरू विजयी भएका छन्। विभिन्न स्थानीय काउन्सिलहरूबाट उम्मेदवार बनेका दश जना नेपाली मूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका हुन्।

निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन्।

निर्वाचितमध्ये तीन जना विपक्षी दल लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन्।

निर्वाचित हुने मध्ये लन्डनको हन्सलो बरोबाट मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भए। लेबर पार्टीबाट उम्मेदवार गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन्। सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन्।

बेलायतको रोयल बरोबाट पहिलो पटक गैरआवासीय नेपाली उम्मेदवार काउन्सिलर निर्वाचित भएका छन्।

रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन्। उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसंगै अन्य दुई पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन्।

यस्तै इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन्।

कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए। उनले ५ सय ५१ मत प्राप्त गरेका थिए। ग्रीन पार्टीका केभिन फोस्टर ५ सय ५९ मतसहित विजयी भएका छन्।

कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए।

लन्डनकै बार्नेट काउन्सिलको बन्टोक वडाबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन्।

लेबर पार्टीका उम्मेदवार उनले २ हजार सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे। सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए।

यसपटकको निर्वाचनमा नेपाली मूलका पाँच उम्मेदवार भने पराजित बनेका छन्।

स्थानीय चुनावमा सत्तारुढ दल कन्जरभेटिभ ५ सय सिट र ११ वटा काउन्सिलमा पराजित भएको छ भने प्रमुख प्रतिपक्ष दल लेवरले गत निर्वाचनमा भन्दा ५ वटा बढी काउन्सिलसहित ५० भन्दा बढी नयां काउन्सिलर जित हासिल गरेको छ। बेलायतको तेस्रो ठ्रलो दल लिबरल डेमोक्रयाटले अपेक्षीतभन्दा आफ्नो अवस्थालाई सुधार गर्दै ३ नयां काउन्सिल र १९१ भन्दा बढी नयां काउन्सिलरमा सफलता प्राप्त गरेको छ। निर्वाचनको पूर्ण नजिता शनिबार दिउँसो सम्म आउने अपेक्षा गरिएको छ।