MENU

परदेशमा दशैंको स्मृति

 

 

सेतो कमेरो, हरियो जमरा, अनि रातो माटो र अक्षता  तर स्मृतिका भित्ताहरु  फिक्कै फिक्का भएछन् । 

एकादेशका दशैंका  बिम्वहरु  ज्वालामुखी बनी  ढिक्कै ढिक्का बहेछन्।

 

 

थर्थराउँदै तिम्रा अञ्जुली भरका टीका अनि बर्बराउँदै तिम्रा आशिस्का लम्बेतान

नबुझेर फिस्स हासिदिन्थे नि पहिला, आज भक्कानो छुटाउने किस्सै किस्सा बनेछन्।

 

 

आफ्नो माटोदेखि पर क्षितिजमा देखिने टिलपिल सपनाको खोजी, जति नजिक त्यति टाढा

रुपियाँको आशमा सपनाहरु आज विस्तारै सिक्कै सिक्का बनेछन्।

 

 

बा तिमी भन्दै त थियौं मैले पसिनाले सिन्चेको पाखा भए हुन्न, आमा तिमी भन्दै त थियौं मेरो हराभरा काख भए हुन्न?

सुखको मृगतृष्णामा तिम्रा  ममताका पाखा अनि काख पनि कित्तै कित्ता भएछन्।

 

 

बाबु तिमी यसपाली आएनौ भने म तिमीलाई भित्ताबाट पो चिहाउँछु की?

बा! आमा! यसपाली त साँच्चै आउँछु नि। आश्वासनका खजाना पनि अब त रित्तै रित्ता भएछन्।