MENU

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो, ३७,३४० संक्रमित

काठमाडौँ, नेपाल । नेपालमा कोरोना भाइरस कोभिड—१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुइसय नाघेको छ ।

शनिबार एकैदिन १२ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका २—२ जनाको मृत्यु भएको हो ।

यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३७ हजार भन्दाबढी

यस्तै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ पीसीआर परीक्षण गरिएको छ योसंगै नेपालमा ६ लाख ६९ हजार ६२६ जनाको पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।

हाल सक्रिय संक्रमित १६ हजार ५ सय ७८ रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा थप १८६ मा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित भेटिएका छन्।

काठमाडौँमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित स्वास्थ्य अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।