MENU

नेपाललाई ‘थ्री नेसन्स कप’को उपाधि

Three Nations Cup 2021- Nepal lifts trophy with 2-1 against Bangladesh
Nepal defeated Bangladesh 2-1 to lift the title of Three Nations Cup 2021 held at Dashrath Stadium, Tripureshwor Monday 29 March 2021.

आयोजक नेपालले थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा बंगलादेशविरुद्ध २-१ गोलको जित निकाल्दै नेपालले उपाधि जितेको हो।

दशरथ रंगशालामा नेपालले सन् १९८४ पछि पहिलो उपाधि जितेको हो। दशरथ रंगशालामै नेपाली राष्ट्रिय टिमले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको उपाधि जितेको थियो। नेपाली राष्ट्रिय टिमको समग्रमा भने यो पाँचौं उपाधि हो।
नेपालले १९८४ को उपाधिपछि उस्तै उपाधि १९९३ मा पनि जितेको थियो। त्यसपछि २०१६ मा नेपालले बंगबन्धु र एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।

नेपालको जितमा सन्जोक राई र विशाल राईले गोल गरे। यता, बंगलादेशका लागि महबुबुर रहमानले एक गोल फर्काए। दशरथ रंगशालामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको थियो। खेलको १८औं मिनेटमा सन्जोकले गोल गर्दै नेपाललाई अग्रता दिलाए।

कर्नरबाट रिबाउन्ड भएको बल डिबक्सभित्रबाट राम्रो प्रहार गर्दै सन्जोकले गोल गरेका हुन्। सन्जोकको यो डेब्यु गोल हो। नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज चाइपेईविरुद्ध गोल गरेयता अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको थिएन। चाइनिज ताइपेईविरुद्ध अन्जन विष्टले दुई गोल गरेका थिए।

खेलको १७ औं मिनेटमा सुनिल बलको क्रसमा अनन्त तामाङको हेडबल गोलकिपर अनिसुर रहमानले मुस्किलले जोगाएका थिए। ३० औं मिनेटमा अन्जन विष्टले गोलकिपर कटाएर हान्न खोजेको फ्लिक सर्ट पोष्टमाथिबाट बाहिरिएको थियो।

खेलको ४२औं मिनेटमा रन्जित धिमालले दिएको पासलाई सन्जोकले थोरै दिशा दिए। जसलाई विशाल राईले अगाडि बढेर उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे। योसँगै नेपालले पहिलो हाफसम्म २-० गोलको अग्रता बनाएको थियो।