सपनाहरूलाई पच्छ्याउँदै, दुःखहरूबाट भाग्दै अनि परिवारका लागि एउटा सुन्दर भविष्य कोर्ने आशामा नेपालीहरू अचेल संसारभर फैलिएका छन् । तिनीहरूसँगै हाम्रो भाषा, संस्कृति र साहित्यले पखेँटा फैलाउने मौका समेत पाएको छ । त्यही फैलावटको एक हिस्साको रूपमा सञ्चारकर्मले मातृभूमिबाट कंगारूको देशसम्म यात्रा तय गर्ने मौका पनि पाएको छ ।
प्रवासमा सञ्चारकर्म वा अक्षरखेती गर्न चाहनेहरूका दुःखका अनगिन्ती किस्साहरू छन् । केहीकेही सुखका पनि होलान् तर दुःखले ती सुखका कथालाई यति ओझेलमा पारेका छन् कि सुखद् किस्साहरू त्यसै बिलाएर जान्छन् । प्रवासको दौडधूपमा बचेखुचेको समय तिनै अक्षरमा समर्पित गर्नु कम चुनौतीपूर्ण छैन । त्यसको एकथान साक्षी म पनि हुन पाएको छु । केही वर्ष साथीभाइहरूसँग प्रत्यक्ष–अप्रत्यक्ष अक्षरखेतीका लागि सहकार्य गर्दा मैले पनि धेरथोर तीतामीठा सम्झनाहरू सँगाल्ने सौभाग्य प्राप्त गरेको छु ।
साथीभाइले सकिनसकी, कुदाकुद गरेर र अनेकन जोरजाम गरेर पत्रिका, अनलाइन वा अन्य मिडियाहरू चलाएका छन् । सावाँ उठाउनु त कता हो कता आफ्नै गोजीबाट दाम खर्चेर यो सोख पूरा गर्नुलाई अक्षरप्रतिको मोहबाहेक म अरू भन्न सक्दिन । पत्रिकाका आधा पृष्ठहरू विज्ञापनै विज्ञापनले भरिएर पनि ‘कृपया पैसा तिरिदेऊ न’ भन्दा अर्को महिनामा मिलाउँला नि भनेर आलटाल गर्नेहरू, किन हालेको त भनेर ठाडो उत्तर फर्काउनेहरूदेखि लिएर समयमैं खुरुखुरु तिर्ने व्यवसायीहरू पनि यहीँ छन् । छपाइका लागि दिने पैसा नपुगेर आफ्नै गोजीबाट डलर तिरेर भए पनि यो सोख पूरा गर्ने मित्रहरू सदैव धन्यवादका पात्र छन् । त्यसमाथि प्रवासको कसिलो मिडिया नीति अँगाल्दै अनि कानुनी झमेलाहरूबाट तर्किदै अक्षरखेतीको बाटो तय गर्नु कम चुनौतीपूर्ण पक्कै छैन । तिनीहरूको त्यो समर्पणको सदैव म हृदयदेखि नै उच्च सम्मान गर्दछु ।
साथीभाइ र अग्रजहरूका बेलाबेलामा लेखिरहनका लागि गर्ने आग्रह र हौसलाले उर्जा दिइरहन्छन् । त्यसमाथि अक्षरखेतीका लागि केही मात्रामा भए पनि सहयोग गर्न पाउनु सुखद् अनुभूति रहन्छ । त्यसैले गर्दा व्यस्त दिनचर्याबाट केही समय निकालेर अक्षरहरू कुँद्न पाए हुन्थ्यो भन्ने चाहना हरपल रहन्छ । कहिले त्यो सपना साकार पनि हुन्छ त कहिले त्यो तिर्सना यत्तिकै मनको कुनामा सपना भएरै हराउँछ ।
मान्छेको शरीर एक दिन नष्ट भएर जान्छ । जीवन र मृत्यु बीचको त्यो धर्कोमा उसले समाज र राष्ट्रका लागि जे दिएर जान्छ त्यही नै उसको ठूलो वा सानो परिचय बन्छ । घर, समाज वा राष्ट्रले उसलाई त्यही सानोठूलो योगदानको आधारमा चिन्छ यदि चिन्छ भने । प्रवासमा आफ्नो सानोतिनो परिचय बनाउन र समुदायलाई केही योगदान दिन चाहनेहरूको उत्कट अभिलाषालाई म सदैव सम्मान गर्दछु ।
अक्षरका माध्यमले समाजलाई सूचित गर्दै नेपाली भाषाको उत्थानमा धेरथोर सहयोग गर्ने उत्कृष्ट अवसर पनि हो सञ्चारमाध्यम । अचेल प्रवासमा यो अवसरको सदुपयोगभन्दा बढी दुरुपयोग भएको मैले देखेको छु । व्याकरणलाई बेवास्ता गर्नेदेखि लिएर भाषाको सारलाई धुजाधुजा पारेको मैले प्रशस्तै भेटेको छु । अधिकांश प्रवासी नेपालीभाषी मिडियाले भाषाको गहनतालाई खासै मतलव गर्दैनन् । गरे भने पनि प्रयोगमा ल्याउन खोज्दैनन् ।
अक्षरका माध्यमले समाजलाई सूचित गर्दै नेपाली भाषाको उत्थानमा धेरथोर सहयोग गर्ने उत्कृष्ट अवसर पनि हो सञ्चारमाध्यम । अचेल प्रवासमा यो अवसरको सदुपयोगभन्दा बढी दुरुपयोग भएको मैले देखेको छु । व्याकरणलाई बेवास्ता गर्नेदेखि लिएर भाषाको सारलाई धुजाधुजा पारेको मैले प्रशस्तै भेटेको छु । अधिकांश प्रवासी नेपालीभाषी मिडियाले भाषाको गहनतालाई खासै मतलव गर्दैनन् । गरे भने पनि प्रयोगमा ल्याउन खोज्दैनन् । यदि खोजिहाले भने पनि दक्ष मान्छे पाउँदैनन् । दक्ष मानिसहरू कोहीकोही भए पनि ‘रेफरेन्स’को भरमा जागिर पाउने देशमा तिनीहरू सधैँ ओझेलमा परेका छन् ।
प्रवासका राम्रैखाले नेपालीभाषी मिडियाको त बेहाल छ भने अरूको कुरा गरिसाध्ये छैन । जब भाषामा साहित्य, लालित्य र साधारण मानिसले बुझ्ने बोलीचालीलाई वास्ता गरिँदैन तब यस्तै समस्या आउँछन् । उल्था गर्नु र भाषालाई साधारण मानिसले बुझ्ने गरी लेख्नु फरक कुरा हुन् । समस्या गल्ती गर्नुमा छैन, गल्ती मानिसबाटै हुन्छ । तर गल्ती भए पनि सुधार गर्ने प्रयत्न नगर्नु मूल समस्या हो ।
मिडियाकर्मीहरू पनि सबै चोखा छैनन् । कुनै जमानाबाट मिडियासँग साइनो छ भन्दै पुराना दिनका एल्बमहरू नियाल्दै बढेको उमेरलाई कुनै संस्थाको पद हत्याउने वा वरिष्ठको पगरी भिरेर मञ्चको अघिल्तिर आसिन हुने प्रवृत्तिले यस कर्मको गरीमामाथि प्रश्नचिह्न समेत खडा गरिदिएको छ ।
समाजमा योगदान उमेरका आधारमा कदापि नापिनु हुन्न । क्षमताको कसीमा नापिन नचाहने तर उमेरको नापोले वरियता कायम गर्ने प्रवृत्तिले हामीले प्रवासका सकारात्मक कुराहरूलाई अँगाल्न नखोजेको प्रष्ट झल्काउँछ । अझ, गुट उपगुटको जोडघटाउमा रमाउने, प्रायोजित समाचारलाई प्राथमिकता दिने अनि व्यक्तिगत झैँझगडालाई समेत यही माध्यममार्फत् बदला लिने मनोभावले प्रयोग गरिने प्रवृत्ति उस्तै घातक छ ।
विकसित समाजमा सञ्चार क्षेत्रलाई श्रृजनशिल पेशाका रूपमा समेत लिइन्छ । डिग्री पाइयो भने उत्कृष्ट सञ्चारकर्मी भइन्छ भन्ने मनोभावले ग्रस्त साथीहरूले यो कुरा बुझ्न जरुरी छ कि डिग्री पाउनु जीवनको अन्तिम लक्ष्य होइन । डिग्री नक्कली दाँतजस्तै हो, हुँदा राम्रो देखिन्छ । हो, डिग्रीका लागि अध्ययन, अनुसन्धान र ठूलो त्याग अवश्य चाहिन्छ । तर डिग्रीले केवल गेटपासको मात्र काम गर्दछ । सम्बन्धित क्षेत्रमा छिर्नका लागि यसले डिग्री नभएकाहरूलाई भन्दा बढी फाइदा र सहुलियत अवश्य दिन्छ । यद्यपि डिग्रीको प्रतिफल मैदानमा देखिनु आवश्यक हुन्छ ।
पढेर प्राप्त ज्ञान, सीप र कलालाई मैदानमा उतार्ने क्षमता नराख्ने तर सदैव मसँग सर्टिफिकेट छ भनेर ढ्याङ्ग्रो ठोक्नु केवल कुण्ठाको प्रदर्शन मात्रै हो ।
हरेक मान्छेले आफ्नो दृष्टिले धेरथोर जे देख्छ र महसुस गर्छ त्यही भन्छ, लेख्छ वा सञ्चार गर्छ । समस्या त्यहाँनेर मैले देख्दिनँ । समस्या उसको दृष्टिलाई कस्ताखाले सङ्गत, हुर्काइ र सिकाइप्रक्रियाले प्रभाव पारेका छन् त भन्ने हो । ऊ कुनै पार्टीको सदस्य बनेर देखेको छ कि त्यसबाट मुक्त भएर, भुइँमान्छेको दृष्टिले हेर्छ कि आकाशमा उड्नेहरूकोले, शोषकको दृष्टिले कि शोषितको, साधारण मानिसको दृष्टिले कि सामन्तको अनि प्रायोजकको दृष्टिले कि पाठकको ? मूल कुरा त्यो हो जस्तो लाग्छ ।
दिल्लीमा गालिबले ‘हमनें ये माना कि दिल्लीमें रहे, खाएङ्गे क्या !’ भनेजस्तै बाँच्नुपर्ने प्रवासमा साथीभाइका अक्षरप्रेम र सञ्चारकर्म निष्पक्ष सूचना पस्कने कदम मात्र नभएर नेपाली भाषा, साहित्यलाई यो विरानो भूमिमा केही मलजल गर्न र यसको उत्थानमा उचाइ थप्ने गहकिलो माध्यम पनि बनुन् । शुभकामना !
अस्ट्रेलियाब्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपाली युवालाई दुई स्वर्ण