MENU

फेब्रुअरी २१ बाट पर्यटक अस्ट्रेलिया प्रवेश गर्न पाउने, पूर्ण खोप लगाएको प्रमाण अनिवार्य

पूर्णरूपमा कोभिड–१९ विरूद्धको खोप लगाएका पर्यटक अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले पूर्णरूपमा खोप लगाएका पर्यटकका लागी फेब्रुअरी २१ बाट अन्तर्राष्ट्रिय सीमा खुल्ला हुने बताएका छन् ।

प्रधानमन्त्री मोरिसनले सोमबार पत्रकारहरूसँग भने, ‘विश्वलाई हामी स्वागत गर्दछौं । अस्ट्रेलियाले हासिल गरेको यो महत्वपूर्ण कोसेढुङ्गा हो भन्ने मैले ठानेको छु ।’

अस्ट्रेलियाले करीब दुई वर्ष पछि विदेशी पर्यटकका लागि सीमाना खुल्ला गर्न लागेको हो । २०२० मार्च २० यता अस्ट्रेलियामा विदेशी पर्यटक प्रवेशको लागि प्रतिबन्ध लगाइएको थियो ।

गत डिसेम्बर महिनाको अन्तिमबाट अन्तर्राष्ट्रिय विद्यार्थी, वर्किङ भिषा भएका तर विदामा गएका व्यक्ति र दक्ष आप्रवासी कामदारहरुका लागि प्रवेश खुल्ला गरिएको थियो ।

विदेशी पर्यटकहरुले अस्ट्रेलिया जानका लागि दुई डोज खोप लगाएको प्रमाण पेश गर्नुपर्छ । मेडिकल कारणले खोप लगाउन नमिलेको हो भने त्यसको प्रमाण देखाउनुपर्ने नियम बनाइएको छ ।

दुई वर्षयता लगातार सीमा नाका बन्द हुँदा अष्ट्रेलियाको पर्यटन व्यवसाय धरासायी बनेको छ । यसले पनि विदेशी पर्यटकका लागि आवागमन खुल्ला गर्न सरकारलाई दबाब परिरहेको छ ।

पर्यटन तथा यातायात मञ्चका प्रमुख कार्यकारी अधिकृत मार्जी ओसमाण्डले सरकारको निर्णयको स्वागत गरेका छन् ।