MENU

प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाद्धारा ४६ हजार डलरको स्वास्थ्य सामग्री सहयोग

ONUF supporting health equipment to Nepal
सिड्नी । नेपालमा कोरोना भाइरसबाट प्रभावितहरुको उपचारका लागि प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाले सहयोगको हात बढाएको छ । मञ्चले नेपालमा अक्सिजन प्लान्ट स्थापना, भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर पठाउनका लागि ४६ हजार डलर सहयोग संकलन गरी पठाएको छ ।

मञ्चका अध्यक्ष रमेश पाण्डेद्धारा विज्ञप्ति अनुसार केही समय अघिदेखि सुरु गरिएको सहयोग संकलन बाट ४६ हजार डलर सहयोग संकलन भएको र संकलित ४६ हजार डलर मध्ये २५ हजार अष्ट्रेलियन डलर (अष्ट्रेलिया ÷ न्यूजिल्याण्ड) अन्तर्राष्ट्रिय प्रवासी नेपाली एकता मञ्चसँगको सहकार्यमा नेपालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पठाइएको हो । अहिले यो रकमबाट चीनमा अक्सिजन प्लान्ट खरिद गरी नेपाल लैजाने तयारी गरिएको उल्लेख छ ।

१५ हजार डलर पर्ने भेन्टिलेटर एक थान र पाँच थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर (६ हजार डलर बराबर) को समेत प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको तर्फबाट नेपालमा सहयोग गरिएको अनुसार अध्यक्ष पाण्डेद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । अक्सिजन प्लान्ट चीनमा खरिद भई त्यसको प्राविधिक परीक्षणको अवस्थामा रहेको र छिटोभन्दा छिटो यसलाई नेपालमा पठाई नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।

“यो महान कार्यमा जोडिनुभएका अष्ट्रेलिया निवासी सबै नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । हाललाई सहयोग संकलनको कार्य स्थगित गरिएको पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।” पाण्डेद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

मञ्चले बिगतमा पनि मातृभूमिका भएका महाभुकम्प, बाढी र पहिरो वा अन्य प्राकृतिक प्रकोपहरुमा आर्थिक तथा राहत सामाग्रीको सहयोग गरेको थियो ।