MENU

एमसीसीबारे प्रचण्ड–‘एमसीसी फरक स्वरूपमा आउनसक्छ, अडान यथावत छ’

तस्वीर स्राेत- प्रचण्डकाे सचिवालय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताले स्थानीय तहको चुनाव पछिमात्र संसदमा प्रवेश पाउने संकेत गरेका छन् ।

एमसीसीमा रहेका कतिपय प्रावधान संशोधन गर्नुपर्ने पार्टीको अडान यथावत रहेको उनले दोहोर्याए ।

माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी बैठकलाई बिहीबार भर्चुअल सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कतिपय प्रावधान परिमार्जन गर्नुपर्नेमा आफूहरू दृढ रहेको बताएका हुन् । उनले एमसीसी अनुमोदन स्थानीय तहको चुनावपछि संसदमा प्रवेश पाउने संकेत गरेका हुन् ।

‘एमसीसी चुनावपछि संसदमा जान सक्छ । परिमार्जन गर्नुपर्छ भन्ने हाम्रो लाइन यथावत छ’ प्रचण्डको भनाई उदृत गर्दै माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘एमसीसी फरक स्वरूपमा आउन सक्छ । हाम्रो अडान भने यथावत नै हुन्छ ।’

अध्यक्ष प्रचण्डले जेठमा स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले विचार मिल्नेसंग चुनावमा सहकार्य हुनसक्ने पनि कर्णाली प्रदेश समितिको बैठकमा बताएका छन् ।