MENU

युक्रेनमाथि रुसी आक्रमण, ठाउँ-ठाउँमा विष्फोट

रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गरेका छन्। युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले जानकारी दिए।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’को घोषणा गरेका थिए। रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ ‘सैन्य कारबाही’को घोषणा गरेका हुन्।

जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसीको उक्त घोषणा आएको हो।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ‘झन्डै दुई लाख सेना र हजारौं लडाकु गाडी तैनाथ गरेको’ बताएका छन्।

बिहीबार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार बिसाउन र घर फर्कन आग्रह पनि गरेका छन्। बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।

यसैबीच बिहीबार बिहान युक्रेनले पनि आफ्नो आकासमा हवाई उडानमा प्रतिबन्ध लगाएको छ। युक्रेनको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले बुधबार राति आपत्कालीन बैठक बोलाएकोमा दुबै देशले बिहीबार बिहानैदेखि आफ्ना गतिविधिहरूलाई भने बढाएका छन्।