MENU

को हुन् पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शहबाज सरिफ?

Shehbaz Sharif elected as Pakistan’s new prime minister
Shehbaz Sharif elected as Pakistan’s new prime minister

पाकिस्तानमा शहबाज सरिफ नयाँ प्रधानमन्त्री बनेका छन्। अविश्वास प्रस्तावका कारण इमरान खान पदबाट हटेपछि नयाँ प्रधानमन्त्री चुन्न पाकिस्तानको संसदमा आज मतदान भएको थियो।

यस क्रममा १७४ सांसदको समर्थनमा उनी पाकिस्तानको २३औं प्रधानमन्त्रीका रूपमा चुनिएका हुन्।

तर, विपक्षमा उम्मेदवार नै थिएन। इमरानको पार्टी पीटीआईका शाह महमुद कुरैशीले यसअघि प्रतिस्पर्धा गर्ने घोषणा गरेका भए पनि सदनको कारबाही सुरु हुनासाथ उम्मेदवारी फिर्ता लिएका थिए।

नवनिर्वाचित प्रधानमन्त्री शहबाज सरिफले स्थानीय समयानुसार आज राति ८ बजे शपथ खाने भएका छन्।

को हुन् उनी?

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री सरिफ तीनपटक प्रधानमन्त्री भइसकेका नवाज सरिफका कान्छा भाइ हुन्। नवाज सरिफ भ्रष्टाचारको आरोपमा २०१७ मा पदच्युत भएर जेल परेका थिए। अहिले उनी उपचारका लागि बेलायतमा छन्।

७० वर्षीय शहबाज सरिफ पुराना राजनीतिकर्मी हुन्, जो सरिफ परिवारको आधारक्षेत्र मानिने पन्जाब प्रान्तमा वर्षौँ मुख्यमन्त्री रहिसकेका छन्। उनी पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्ष पनि हुन्।

उनी र उनका दाजुहरुले स्टिलसम्बन्धी पारिवारिक व्यवसाय विरासतमा पाएका थिए। १९८८ मा पहिलो पटक उनी मुख्यमन्त्री चुनिए।

क्रान्तिकारी कविहरुलाई बारम्बार उधृत गर्न मन पराउने सरिफ मुख्यमन्त्री छँदा नियमित सरकारी कार्यालयहरुको अनुगमन गर्ने गर्थे। जसका कारण कर्मचारीहरु सतर्क रहने गर्थे।

तथापि प्रदेशमा रहेका गम्भीर मुद्दाहरुलाई उनले सम्बोधन नगरेको आलोचकहरुको आरोप छ। सरकारी सेवा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा सुधार गर्न छाडेर विद्यार्थीलाई ल्यापटप बाँड्ने, बेरोजगारलाई छुटसहितको ट्याक्सी उपलब्ध गराउनेजस्ता मतदाता आकर्षित गर्ने काममा उनी लागेको तिनको भनाइ छ।

सरिफलाई पनि भ्रष्टाचारको आरोप छ। सरिफ र उनका छोरा हाम्जाको नाममा रहेका करिब दुई दर्जन सम्पत्ति डिसेम्बर २०१९ मा नेसनल अकाउन्टिबिलिटी ब्युरोले कब्जा गरेको थियो।

सेप्टेम्बर २०२० मा उनी पक्राउ परेका थिए। तर, ५ महिनापछि उनलाई धरौटीमा छाडिएको थियो।

सरिफलाई लचक, दुश्मनसँग समेत सम्झौता गर्न सक्ने नेताका रुपमा चिनिन्छ।

पाकिस्तानमा मुलुकको सबैभन्दा बलियो संस्था सेना रहँदै आएको छ। र, वास्तविक सत्ता सेनाकै हातमा रहेको विश्वास गरिन्छ।

सरिफले आफू जहिले पनि राजनीतिक र सैन्य नेतृत्वबीच सहकार्य हुनुपर्ने पक्षमा रहँदै आएको बताएका छन्।

लन्डन, दुबईजस्ता स्थानमा विलासी अपार्टमेन्ट रहेको, बहुविवाह गरेको जस्ता विषयमा समाचार प्रकाशित हुने गरेका थिए। यसका बाबजुद सरिफ लोकप्रिय रहे।​

महिलावादी लेखिका तहमिना दुर्रानीसँग उनको विवाहपछि यसबारे उनको चर्चा सेलाएको थियो। एजेन्सी