बीस बर्ष अघि भएको सिड्नी ओलम्पिकसँग नेपालीको साइनो निकै घनिष्ट छ । बिश्व भरका हजारौ खेलाडी तथा लाखौ खेलप्रेमी सहभागी यो सहश्राब्दीकै पहिलो महान खेल मेलामा दर्जनौ नेपालीले स्वयंसेवा गरेका थिए भने १५ दिन चलेको महामेलामा सयौ नेपालीले कुनै न कुनै खेल प्रत्यक्ष हेरेका थिए ।
सिड्नी। बिशाल सिड्नी ओलम्पिक स्टेडियमको मुख्य प्रवेशद्वार अगाडी ठड्याईएका स्पातका दर्जनौ खम्बाहरुमा अंकित ७४ हजार स्वयंसेवकका नामहरुको लस्करमा केहि नेपाली स्वयंसेवकको नाम पनि छ । सिड्नी ओलम्पिक समापनका क्रममा प्रकाशित अस्ट्रेलियाको चर्चित पत्रिका सिड्नी मार्निंग हेराल्डको बाक्लो बिशेषांकमा पनि यी सबै स्वयंसेवकको नाम प्रकाशित भएको थियो ।
अस्ट्रेलियामा स्वयंसेवाको नयाँ मोडेल समेत सिड्नी ओलम्पिकका यिनै स्वयंसेवकले स्थापित गरेको मानिन्छ । अवसरहरुको अनुपम देश अस्ट्रेलियामा यी स्वयंसेवकहरुले कालान्तरमा आफ्ना बिभिन्न ब्यवसाय वा पेशा अंगालेका छन् तर सिड्नी ओलम्पिकमा आफुले गरेको स्वयंसेवा उनीहरुका लागि सबैभन्दा गौरबको बिषय हो ।
सिड्नी ओलम्पिकका ७४ हजार स्वयंसेवक मध्ये एक नेपाली हुन् प्रदीप कुमार ढकाल । उनले सिड्नी ओलम्पिकको सुचना प्रबिधितर्फ स्वयंसेवा गरेका थिए । उनको जिम्मा डार्लिंगहार्बर स्थित ओलम्पिक कार्यालयमा थियो । “सिंगो सिड्नी खेलमा जुर्मुराएको थियो ।” उनले बीस बर्ष पुरानो सम्झना गर्दै भने । स्वयंसेवाकै बिचमा एकदिन खेल हेर्न आइपुगेका उनले स्वोर्ण पदक बिजेता एक अमेरिकन खेलाडीसँग फोटो खिच्न पनि भ्याए ।
बीस बर्ष पछि सिड्नी ओलम्पिकको स्मरण गर्दा उनका आँखा रसाय र, अनुभूति ताजगी गर्दै भने- “त्यो समयको स्मरण गर्दा अहिले भावुक र गौरबांवित दुवै हुन्छु ।” उनी नेपालबाट आउने आफ्ना साथीभाई र आफन्तलाई एक पटक ओलम्पिक पार्क जरुर घुमाउछन् र फलामका खम्बामा अंकित नेपालीहरुका नाम देखाएर आफ्नो योगदान सम्झाउछन् ।
सिड्नी ओलम्पिकमा स्वयंसेवक गर्नेमा उनका अर्का साथी थिए कुलदीप प्रधान । सिड्नी ओलम्पिक खेलको स्वयंसेवकका रुपमा खटेका उनको खेल हेर्नुमा पनि उत्तिकै रुची थियो । एक दर्जन खेल पनि हेरेका उनले बिस बर्ष अघिका एक दर्जन टिकटका अर्धकट्टी पनि सुरक्षित राखेका छन् । उनि खेल भएको बिस बर्ष पछि बिहिबार साँझ उही बिस बर्ष पुरानो जर्सी लगाएर र त्यो बेलाको स्वयंसेवक परिचयपत्र भिरेर ओलम्पिक पार्कमा उपस्थित भए ।
फलामे खम्बामा अंकित आफु र आफ्ना साथीहरुको नाम देखाउदै उनले बिस बर्ष पुरानो स्मृति गरे, “म यहिनेर उभियर पाहुनालाई बाटो देखाउथे । यो लाइफ टाइम इभेन्ट भएकाले स्वयंसेवा सकिने बित्तिकै सम्भब भएको र टिकेट पाएको खेल हेर्न पुगी हाल्थे।” उनले त्यो बेलाका महत्वपूर्ण फोटो संकलन गरेका छन् ।
अर्का स्वयम्सेवक थिए – नरेश थापा । डार्विनबाट टेलिफोन सम्पर्कमा आएका कम्प्युटर इन्जिनियर नरेश थापाले सिड्नी ओलम्पिकको सिड्नी अन्तरास्ट्रिय विमानस्थल स्थित सुचना प्रबिधि कार्यालयमा स्वयम्सेवा गरेका थिए । उनलाई बिस बर्ष पुरानो त्यो कामको सम्झना ताजा छ । खेलाडी र पाउनाहरुको परिचय पत्र निर्माण गर्ने, छपाई तथा सुचना प्रबिधि सम्बन्धि काममा सघाउनु उनको भूमिका थियो । उनि भन्छन, “बिस बर्ष अघिको त्यो घटना हिजोको जस्तो लाग्छ, ओलम्पिक ड्रेस र परिचयपत्र बोकेर अन्तरास्ट्रिय विमानस्थलमा खटेको ।”
अर्का स्वयंसेवक थिए – शिवकुमार श्रेष्ठ । उनले पनि ओलम्पिक पार्कमा दर्शकहरुकालागि पथ प्रदर्शकको काम गरेका थिए । भन्छन- “त्यो दिन अब फेरी हाम्रो जीवनमा कहिले आउला ?” उनले पनि त्यो बेलाको जर्सी सुरक्षित् राखेका छन् । सिड्नी मर्निंग हेराल्डमा आफ्नो नाम छापिएको अंक उनले केहि बर्ष अघिसम्म सुरक्षित् राखेका थिए । अर्का स्वयम्सेवक थिए – मेघराज श्रेष्ठ । हाल नेपालमा रहेका उनिसँग सम्पर्क हुन सकेन ।
उनिसंगै दर्शकहरुलाई लाइन लाग्न सहयोग गर्ने, ब्रुसर वितरण गर्ने, सुचना आदान प्रदान गर्नेकाममा ८ दिन सम्म खटेका अर्का स्वयम्सेवक थिए – कृष्ण कुमार श्रेष्ठ । उनी स्वयम्सेवा सकिए लगतै श्रीमती अन्जना र केहि महिनाको बच्चा आयामलाई लिएर एक लाख दर्शकको भिडमा खेल हेर्न पुगेका थिए । खेल थियो ४ सय मिटरको दौड । अस्ट्रेलियन धावक क्याथी फ्रीम्यानले स्वर्ण पदक जित्दा सिंगो स्टेडियम रन्के पछी उनको बच्चा रोयर थाम्न कठिन भएको उनलाई सम्झना छ । भन्छन, “त्यो हाम्रो लागि गौरवमय स्वयम्सेवा, उत्साहजनक इतिहास, रमाइलो अनुभव र जीवनभरको सम्झना थियो ।”
सिड्नी ओलम्पिकको सबैभन्दा केन्द्रको स्वयम्सेवामा थिए – मन बहादुर खत्री । खेलकुद भैरहदा उनि आइसीटी प्रेस संयोजनको काममा थिए र जिम्मेवारी थियो – खेलहरुको नतिजा प्रकाशन तथा सिस्टममा अपडेट गर्ने, पत्रकारहरुलाई सुचना दिने, बिभिन्न खेल मैदानमा रोटेसन जाने । उनको एकसेएक खेलकुदका भेटेरानहरुसँग भेट हुन्थ्यो । बिश्व च्याम्पियनहरुसँग रात्रि भोजमा पुग्थे ।
सिड्नी ओलम्पिकको एक गौरवमय अनुभव सुनाउदै भन्छन, “एकपटक अमेरिकन बास्केट बलर माइकल जोर्डनसँगै रहेछु, नाम सुने पनि अनुहार याद थिएन, परिचय गर्दा पो म अचम्मित भए।” खत्रीलाई पनि भर्खरै नेपालबाट आएका आफु र आफु जस्तै युबाले सहश्राब्दीको पहिलो बिश्व प्रसिद्द खेलमा स्वोयाम्सेवा गर्न पुग्नु संयोग र गौरबको कुरा लाग्छ ।
वाईटुके भाइरसको डर उस्तै थियो र सार्बजनिक यातायातका हजारौ ड्राइभरहरुको हड्तालले सिड्नी ओलम्पिकलाई असर पर्ने सम्भावाना थियो तर सरकारले सेनाका ड्राइभरहरु सार्बजनिक यातायातमा खटाएर हड्ताल निस्तेज पारेको थियो र ओलम्पिक फिल्डमा नेपाली युबा मन बहादुर खत्री जस्तै ७४ हजार स्वयम्सेवक निःशुल्क तैनाथ थिए । परिणाम सिड्नी ओलम्पिकको ब्यबस्थापन सफल भयो ।
सिड्नी ओलम्पिकमा खटेका नेपाली स्वयम्सेवकहरु प्रदीप ढकाल सिड्नीको पहिलो नेपाली शिक्षालय संचालन गर्छन भने मनबहादुर खत्री गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका सस्थापक अध्यक्ष हुन् । मेघराज श्रेष्ठ नेपालमा कृषि उद्यममा क्रियाशील छन् भने कुलदीप प्रधान गणित तथा सुचना प्रबधि पढाउछन्, नरेश थापा शिक्षालय् चलाउछन र शिब कुमार श्रेष्ठ पर्यटन ब्यबशाय गर्छन र कृष्ण कुमार श्रेष्ठ प्राध्यापन गर्छन ।
बिस बर्ष पछि सबैको परिचय फरक फरक बने पनि सिड्नी ओलम्पिकमा उनीहरुले गरेको स्वयम्सेवा भने अस्ट्रेलियाको खेलकुदको इतिहासमा नमेटिने गरि फलामे खम्बाहरुमा लेखिएको छ – गौरवशाली नेपालीका रुपमा ।