MENU

यसरी नापियो सगरमाथाको उचाइ (भिडियो सहित)

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको १६८ वर्षको इतिहासमा नेपालले पहिलो पटक नयाँ उचाइ कायम गरी गौरवपूर्ण इतिहास रचेको छ ।

८ हजार ८४८ मिटर ८६ सेन्टिमिटर सगरमाथाको नयाँ उचाइ पत्ता लगाउन नापी विभागका प्राविधिकहरुले साढे दुई वर्य समय खर्चेका थिए । सगरमाथाको नयाँ उचाइ कायम भएसँगै नेपालको गौरव र प्रतिष्ठा थप उचो बनेको छ ।

नेपालको आफ्नै स्रोत साधन र जनशक्तिबाट पहिलो पटक सगरमाथाको उचाइ मापन कार्य सम्पन्न भएका कारण नेपालको क्षमता थप प्रदर्शन भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबइ निवारण मन्त्रालय अन्तरगतको नापी विभागका करिव ८० जना प्राविधिक कर्मचारीहरुको समूहले साढे दुई बर्षको समयमा राष्ट्रका लागि ऐतिहासिक र गौरवपूर्ण कार्य सम्पन्न गरेका हुन् । यो कार्यका लागि विभागले कार्यविधि मस्यौदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुसँगको समन्वयबाट अन्तिम रुप तयार गरी कामको थालनी गरेको थियो ।

उचाइ मापन कार्यको सर्वेक्षणका लागि प्रि साइज लेवलिङ, ग्राभिटी, ग्लोबल नेभिगेसन स्याटेलाइट प्रणाली (GNSS) को प्रयोग गरिएको थियो । यस क्रममा समुद्रि सतहको गणितीय मोडल पत्ता लगाउन सोलुखुम्बु, रामेछाप र तराइका उदयपुर, सिरहा गरी १३ जिल्लाका विभिन्न स्थानमा सर्वेक्षण गरिएको थियो ।

यसको अलावा सगरमाथाको चुचुरोमा पुगेर छुट्टै ग्लोवल नेभिगेसन स्याटेलाइट प्रणालीबाट सर्वेक्षण गरेपछि सगरमाथाको थप उचाइ पत्ता लगाउने कार्य सम्पन्न भएको हो । नापी विभागको सम्पूर्ण स्रोत साधन र जनशक्तिबाट यो ऐतिहासिक कार्य सम्पन्न गरियो भने सगरमाथाको चुचुरोमा सर्वेक्षणका लागि विशेष प्रकारको ट्रिम्बल मेसिन न्युजिल्याण्डबाट सहयोग स्वरुप प्राप्त भएको थियो ।

यसैबीच सगरमाथा उचाइ मापन कार्यक्रमका संयोजक एवम् नापी विभागका उपमहानिर्देशक सुशील डंगोलले सगरमाथाको नयाँ उचाइ मापन कार्य गौरवपूर्ण र ऐतिहासिक भएको बताउनुभएको छ ।

सगरमाथाको उचाइ मापन भएको १६८ बर्ष पछि नेपालले पहिलो पटक सफलतापूर्वक नयाँ उचाइ मापन सम्पन्न गरेको हो । नेपाल र मित्रराष्ट्र चीनबीच भएको समझदारी अनुसार चीनले पनि सगरमाथाको छुट्टै उचाइ मापन गरी संयुक्त रुपमा दुबै मुलुकले नयाँ ८ हजार ८४८ मिटर ८६ सेन्टिमिटर उचाइ घोषणा गरेका हुन् ।

साभार : नेपाल टेलिभिजन