MENU

“फादर्स डे” को दिन लकडाउन उल्लंघन गरेको भन्दै प्रधानमन्त्री मरिसनको आलोचना

Australian Prime Minister Scott Morrison

सिड्‍नी- बुबाको मुख हेर्ने दिन मनाउन आएका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भएको छ।

अस्ट्रेलियामा कोरोना महामारीका लागि लकडाउन जारी भएकोले छुट्टाछुट्टै बस्दै आएका प्रधानमन्त्री मोरिसन बुबाको मुख हेर्ने दिनको अवसरमा सन्तानलाई भेट्‍न क्यानबेराबाट सिड्नी आएका थिए।

प्रधानमन्त्रीले नै लकडाउनको उल्लंघन गरेको भन्दै उनको आलोचना भएको हो। तर, प्रधानमन्त्री मोरिसनले भने आफूलाई एक निजी जेटमा क्यानबेरादेखि सिड्नीसम्म यात्रा गर्नका लागि छुट दिएको बताएका छन्।

स्वास्थ्य अधिकारीहरुले पनि प्रधानमन्त्री मोरिसनको यात्रा अनुमति स्वीकृत गरिएको बताएका छन्। प्रधानमन्त्रीको विशिष्ट भूमिकाका कारण आवश्यक कामका लागि उक्त अनुमति दिइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

तर, यो दोहोरो चरित्रको काम भएको भन्दै उनको आलोचना भइरहेको छ। सिड्नी ड्ल्टा भेरियन्टको प्रकोप देखिएपछि आधाभन्दा बढी अस्ट्रेलियनहरु लकडाउनमा भएको समयमा देशको प्रधानमन्त्रीले घुमफिर गर्न र लकडाउन उल्लंघन गर्दै घुम्‍न जान नपाउने भन्दै आलोचना भइरहेको हो।

विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री मोरिसनले ‘डरलाग्दो फैसला’ गरेको आरोप लगाएका छन्। लेबर पार्टीका सांसद् बिल सोर्टनले उनले आफ्ना सन्तानलाई भेट्न नै नपाउने भन्‍ने नभएको उल्लेख गर्दै अन्य अस्ट्रेलियनसरह उनले पनि लकडाउनको पूर्ण पालना गर्नुपर्ने बताएका छन्।

देशमा प्रधानमन्त्री मोरिसनका लागि एउटा कानुन र अन्य अस्ट्रेलियनका लागि छुट्टै कानुन नभएकोले देशका हरेक नागरिकले कानुनको पूर्ण पालना गर्नुपर्ने उनको तर्क रहेको छ।

बुबा बन्‍न पाउनु नै सबैभन्दा ठूलो आर्शीवाद: प्रधानमन्त्री मोरिसन

अस्ट्रेलियामा सेप्टेम्बरको पहिलो आइतबार बुबाको मुख हेर्ने दिन मनाउने गरिएको छ। प्रधानमन्त्री मोरिसनले आइतबार आफ्नो परिवारसँगको तस्बिर पोस्ट गर्दै ‘बुबा बन्‍न पाउनु नै सबैभन्दा ठूलो आर्शीवाद भएको’ लेखेका थिए।

उक्त तस्बिरमा उनले आफू सिड्नी भएको कुरा भने खुलाएका थिएनन्। उनी सिड्नी पुगेको भन्‍ने थाहा भएपछि उनको आलोचना सुरु भएको हो। मोरिसनले यसलाई राजनीतिक द्वेषका आधारमा गरिएको आलोचना भन्दै प्रतिक्रिया दिएका छन्।
स्रोत: अन्तराष्ट्रिय समाचार एजेन्सिहरू