MENU

यो साता विदेशमा थप एक हजार नेपाली कोरोना संक्रमित

युरोपलगायतका विश्वका विभिन्न स्थानमा सुरु भएको कोरोना संक्रमणको दोस्रो लहरबाट नेपालीहरु पनि प्रभावित भएका छन्।

यो साता थप एक हजार नेपाली कोरोना संक्रमित भएका छन्। गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन्। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।

४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सय ६९ जना कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत सातासम्म १९ देशका २ सय ८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

अनावश्यक यात्रा नगरौं

गैरआवासीय नेपाली संघले अति आवश्यक बाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ ।

कोरानो भाइरसको विश्वव्यापी संक्रमणको कारणले युके, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अतिआवश्यक बाहेक अन्य प्रयोजनको लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गर्नुभएको छ ।

स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किदा मानिसहरुलाई सके सम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन  र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेको छ ।

१ लाख २६ हजार जनाको उद्धार

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको संयुक्त पहलमा हाल सम्म ३३ देशका १ लाख २६ हजार ९ सय ८९ जना नेपालीहरुको उद्धार गरिएको छ ।