MENU

पूर्ण खोपको परिभाषा सच्च्याइयो, कहिलेबाट लागू हुन्छ नयाँ व्यवस्था ?

Covid-19 vaccines

अस्ट्रेलियामा पूर्ण खोपको परिभाषा सच्च्याइएको छ । खोपका लागि अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह (अटागी)ले ‘पूर्ण मात्रा खोप’ लगाएको सट्टा ‘खोप अद्यावधिक रहेको’ भन्ने वाक्यांश प्रयोगका लागि सिफारिस गरेको छ ।

कोरोना खोपको बुस्टर डोजलाई पनि समेट्नको लागि अटागाीले नयाँ व्यवस्था सिफारिस गरेको हो ।
अटागीले गरेको यो पछिल्लो सिफारिस मार्चको अन्तिम साताबाट लागू हुनेछ ।

त्यसपछि भने पूर्ण मात्रा खोप लगाएको भन्ने कुराले बुस्टर डोजलाई समेत समेट्ने छ । अस्ट्रेलियामा बसोबास गर्ने १६ वर्ष माथिका मानिसहरूले कोभिड–१९ खोप अद्यावधिक रहेको बताउनको लागि बुस्टर डोज लगाएकै हुनुपर्नेछ ।

तर, १६ वर्षभन्दा कम उमेरका मानिसहरूको हकमा भने दुई मात्रा खोपलाई नै ‘अद्यावधिक रहेको’ मानिने भनिएको छ ।

यो पछिल्लो व्यवस्थाले विदेशी पर्यटकहरुलाई भने प्रभावित नगर्ने बताइएको छ । उनीहरूका हकमा कोभिड–१९ खोपको दुई मात्रा लगाएको प्रमाण–पत्रले नै पूर्ण खोपको मान्यता पाउने छ ।

अस्ट्रेलियामा फेब्रुअरी २१ बाट विदेशी पर्यटकलाई सीमाना खुल्ला गर्न लागिएको छ । विदेशबाट आउने पर्यटकले पूर्ण मात्रामा खोप लगाइएको हुनुहुपर्ने नियम बनाइएको छ ।

सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले वृद्ध स्याहार केन्द्रमा काम गर्ने मानिसहरूका लागि बुस्टर डोज खोप अनिवार्य गर्ने बताएका छन् ।

शुक्रवार जारी गरिएको सरकारी आँकडाहरू अनुसार अस्ट्रेलियाका न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड र साउथ अस्ट्रेलिया गरेर पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कुल ४८ मानिसहरूले ज्यान गुमाएका छन् ।

साउथ अस्ट्रेलियामा भने कोभिड–१९ नियन्त्रण सम्बन्धी प्रतिबन्धहरू केही खुकुलो बनाइएका छन् । पब, क्लब र रेस्टुरेन्टहरूको ग्राहक क्षमता अभिवृद्धि गरिएको छ ।