MENU

अमेरिकी राष्ट्रपति निर्वाचनः नेपालीको समर्थन कसलाई?

अमेरिकामा बहुप्रतीक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार (अमेरिकी समय अनुसार) शुरू भएको छ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ।

आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन। कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ।

अनुदारवादी रिपब्लिकन र उदारवादी डेमोक्रेट पार्टीबीच अघिल्ला चुनाबमा आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो भने यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो।

हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारण जीवन गुमाएका छन् भने ९० लाखलाई यो सङ्क्रमणले गाँजेको छ।

त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ। आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ।

कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ। अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ। हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ्ग) मार्फत् करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ।

यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ। यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो। मंगलबार हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्रेट पार्टीको क्रमशः वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ।क सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्रेटको ४७ सिट रहेको छ। उता तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्रेटको २३२ सिट सहित वर्चस्व रहेको छ।

यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ। सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ।

विगत वर्षमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भए तापनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ। तर पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चारमाध्यमले पनि जो बाइडेनको अग्रतालाई प्रचार गरिरहेका छन्।

तर यसपटक हरेक विषयमा भौतिकरुपमा भन्दा प्राविधिकरुपमा मतदाता र उम्मेदवारहरुबीच अन्तर्क्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरु पनि छन्।

नेपालीको समर्थन कसलाई ?

अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यो पटकको निर्वाचनले प्रभावित पारेको छ। संख्यात्मक हिसाबले नेपाली भाषीको निर्वाचनमा प्रभाव पार्न नसक्ने भए तापनि नेपालीको जनघनत्व बढी भएको स्थानमा कोही रिपब्लिकन त कोही डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा समेत होमिएका छन्।

डेमोक्रेटिक पार्टीका तर्फबाट मेरिल्याण्ड जनरल एसेम्वलीमा डेलिगेटमा विजयी भएका पहिलो नेपाली अमेरिकन ह्यारी भण्डारीले आफनो अगुवाईमा ‘नेप्लिज फर वाइडेन’ अभियान सञ्चालन गरेका छन्। आफूलाई डेमोक्रेटिक पार्टीले बोक्ने प्रगतिशील एजेण्डा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय हरेक मुद्दामा राख्ने स्पष्ट दृष्टिकोणले प्रभावित पारेको उनको भनाइ छ।

यसै सिलसिलामा भण्डारीले अमेरिकी सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनसँग नेपाली समुदायका अगुवाहरुलाई चुनावी रणनीतिबारे भर्चुअल अन्तक्र्रिया र र्याली पनि गराएका थिए।

‘हामीले राजनीतिकरुपमा अमेरिकाको मूलधार र यहाँको प्रजातन्त्रको अभ्यासमा भावी पिँढीलाई कसरी समाहित गराउने भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ। व्यक्तिगतरुपमा म र हाम्रो समूहले पूर्व राष्ट्रपति बराक ओवामाको पालादेखि नै नेप्लिज अमेरिकनलाई मूलधारको राजनीतिमा समावेश गराउने पहल गरिएको थियो’ उनले भने।

आफूलाई डेमोक्रेटिक पार्टीले बोक्ने प्रगतिशील एजेण्डा, राष्ट्रिय तथा अन्तरराष्ट्रिय हरेक मुद्दामा राख्ने स्पष्ट दृष्टिकोणले प्रभावित पारेको उनको भनाइ छ। भण्डारी अमेरिकाको राजनीति र माइनोरिटी सम्बन्धमा युनिभर्सिटी अफ मेरिल्याण्डवाट विद्यावारिधिका लागि शोध पनि गरिरहेका छन्।

उनले अध्ययनका क्रममा अमेरिकाको राजनीतिमा एशियन अमेरिकनको सहभागिता आगामी दशकमा अझ बढ्ने अनुसन्धानले पुष्टि गरेकाले यसमा आफू विश्वस्त रहेको बताए।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर मात्र पुग्दैन। यहाँको संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ।

डेमोक्रेट पार्टीको एशियन अमेरिकन प्यासिफिक आइल्याण्डस मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य तथा नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका केन्द्रीय उपाध्यक्ष अर्जुन हमालले नेप्लीज अमेरिकनहरु चुनावी प्रक्रियामा सामेल भएको धेरै नभएको बताउँदै तर यो प्रक्रियामा सामेल भएर आफ्नो अधिकार उपयोग गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे।

उता रिपब्लिकन पार्टीको वर्चस्व रहेको टेक्सासमा बस्दै आएका ‘एनआरएन आइसिसिका अमेरिकाज क्षेत्रका डिआरसी’ रामसी पोख्रेल आफू ‘रजिष्टर्ड रिपव्लिकन’ भएको बताउँदै टेक्सासमा रहेका नेप्लीज अमेरिकनहरुले साउथ एशियन रिपब्लिकन क्लब स्थापना गरेर आफ्नो विचारसँग नजिक रहेका रिपब्लिकन पार्टीका उम्मेदवारलाई सहयोग गरिरहेको बताए।

–रासस आलेख