MENU

अस्ट्रेलियामा यो बर्षको तीज घर-घर र सामाजिक संजालमा सिमित

Nepalese Australian
सिड्नीको एसफिल्ड पार्कमा तिज मनाउन भेला भएका नेपाली महिलाहरू

सिड्नी । अस्ट्रेलिया भरका नेपाली नारीहरुको तीज यो बर्ष पृथक भयो । यस पालि स्थानिय काउन्सिल हल र फङ्सन सेन्टरमा तिजको दरखाने कार्यक्रमहरु भएनन् । हिन्दु मन्दिर र पार्कहरुमा पनि तिजको रौनक देखिएन । सिड्नीको पश्चिम मिन्टोमा अवस्थित गुप्तेश्वर महादेवको मन्दिर परिसरको ढोका भक्तजनहरुको लागि बन्द गरिएको थियो । ब्यवसायिक ईभेन्ट कम्पनीहरुले पनि नेपालबाट कुनै कालकारहरु बोलाएनन् र कार्यक्रम पनि भएनन् ।

दिदी बहिनीहरुले घरमा बसेर तिज मनाए अनि समाजिक संजलमा प्रदर्शन गरे । सामाजिक संजाल रातो सारीमा पहेँलो र रातो झुप्पा पोते अनि छड्के तिलहरीमा सजिएका महिलाहरुको फोटोले रङ्गिएका थिए ।

सामाजिक संजालमा तिजको दरको जति रौनक थियो, तिजको दिनमा गरिने पूजाआजा, गीत गायन र नृत्य पनि उत्तिकै मनमोहक थियो । ब्रत बसेर पनि सक्रियतापूर्वक गायन र नृत्य गरिरहेका नारीले त्यहाँ एउटा ‘मिनी नेपाल’को माहोलेल सिर्जना गरेका थिए ।

कोरोना भाइरस नियन्त्रणको लागि राज्यले जारी गरेको समाजिक दुरी सम्बन्धित नियम र सार्वजनिक भेटघाट निषेधका काराण यो बर्ष तिज घर घरमा सिमित भएको हो ।

परोपकरी तिज

नेपालमा परोपकारी काम गर्न तिजलाई अर्थसंकलन कार्यक्रमको रुपमा अस्ट्रेलियाका केही नेपाली सामुदायिक संस्थाहरुले उपयोग गर्दै  आएका थिए । नारी निकुञ्ज अस्ट्रेलिया र दिदी बहिनी समाज भिक्टोरियाले तिज कार्यक्रमबाट संकलन भएको रकमले नेपालमा महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन् ।

नारी निकुञ्ज अस्ट्रेलियाकी राष्ट्रिय संयोजक सन्ध्या शाह

नारी निकुञ्ज अस्ट्रेलियाकी राष्ट्रिय संयोजक सन्ध्या शाह यो बर्षको तिज एकदमै शुन्य र चहलपहल बिहिन भएको बताउँछिन् । शाह भन्छिन्, “सामुहिक रुपमा तिज मनाउन नपाए पनि साथी र आफन्तहरुलाई फोन र सामाजिक संजाल मार्फत तिजको शुभकामना साटासाट भयो ।” नारी निकुञ्ज अस्ट्रेलियाले बिगत केही बर्षदेखि तिजलाई परोपकारी कार्यक्रमको रुपमा मनाउँदै आएको छ ।

सामुहिक रुपमा तिज मनाएर संकलन भएको रकमले नेपालमा आङ खस्ने समस्याबाट पीडित महिलाहरुको उपचारमा सहयोग गरिरहेको छ । शाहका अनुसार संस्थाले कोरोना भाईरसका कारण जोखिममा परेका नेपाली महिलाहरुलाई दैनिक जीवनयापनको लागि ग्रोसरी र अन्य अत्यावस्यक समानहरु सहयोग गरेको छ ।

सथै जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ ईक्विपमेन्ट (पिपिई) वितरण गरिरहेको छ ।  अनुकुल समय मिलाएर अर्थसंकलन कार्यक्रम गरेर संस्थाको कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको शालहे नेप्लिज अस्ट्रेलिनलाई बताइन ।

भिक्टोरिया, मेलबर्नमा सक्रिय दिदी बहिनी समाज भिक्टोरियले बिगत पाँच बर्षदेखि “सँस्कृति जोगाऔ, आशा जगाऔ” भन्ने नाराका साथ तिज मनाउँदै आएको छ । समाजका अध्यक्ष जमुना पराजुलीका अनुसरा प्रत्येक बर्ष तिज कार्यक्रम प्रवासमा आफ्नो संस्कति संरक्षण र अर्थ संकलन गरेर नेपालमा परोपकारी कार्यका लागि मेलबर्नमा हुँदै आएको छ ।

दिदी बहिनी समाज भिक्टोरियका अध्यक्ष जमुना पराजुली

संकलन भएको रकमले नेपालको मध्य पश्चिम सुर्खेत क्षेत्रमा पारिवारिक हिंसा प्रभावित महिला र बालबालिकालाई सहयोग गरिरहेको छ  । पराजुली भन्छिन, “स्थानिय आवाज भन्ने संस्थासँगको सहकार्यमा घरेलु तथा पारिवारीक हिंसा र बलात्कारको शिकार भएका महिलाहरुलाई कम्तिमा दुई महिना सम्म अस्थायि आवासको लागि दिदी बहिनी समाजले सहयोग गरिरहेको छ ।”

अहिले सम्म ७५ जनाले सेवा पाईसकेको छन् । पराजुलीका अनुसार यो बर्ष तिज कार्यक्रम नभए पनि सहयोगि मनहरुले विगत बर्षको जस्तै सहयोगको प्रतिबद्धता देखाएका छन् ।

बिगतमा हिन्दु महिलाले मात्र मनाउँदै आएको यो पर्वले विस्तारै प्रवासमा पनि ब्यापकता लिदैछ ।  संस्कृति र समाजसेवाको अवसरको रुपमा अस्ट्रेलियामा तीजको महत्व बृहत बन्दैछ  ।

कार्यस्थलमै नेपाली नर्सले मनाए तीज

अस्ट्रेलियाको हेल्थ केयर सेक्टरमा ठूलो संख्यामा रहेका नेपाली नर्सहरूले पनि कार्यस्थलमै  एक अर्कामा सुभकामना साटासाट गरी तिज मनाएका छन् । उनीहरूले पीपीइ सहित व्रेकको समयमा तिज गितमा एकै छिन भएपनि नाचगान गरे ।

यसैवीच हेल्थ केयर वर्करहरूको अस्ट्रेलियाको मजदुर संगठन, हेल्थ सर्भिस युनियनले पनि नेपाली भाषामै तीजको सुभकामना दिएको छ ।

हेल्थ सर्भिस युनियनको तिजको शुभकामना ।