MENU

एज केयरमा कोरोना भाइरस फैलिएकोमा अस्ट्रेलियाका प्रधानमन्त्री र मन्त्रीले माफी मागे

Nepalese Australian

देशभरीको वृद्ध स्याहार केन्द्रहरुमा ३३४ जनाको मृत्यु भएको छ, जसमध्ये ३२८ जनाको एज केयर भित्र मृत्यु भएको छ ।

Photo Source: Office of Senator the Hon Richard Colbeck

क्यानबेरा । प्रधानमन्त्री स्कट मरिसन र एज केयर मन्त्री रिचर्ड कोलवेकले वृद्ध स्याहार केन्द्रहरुमा कोरोना भाइरस फैलनबाट रोक्न असफल रहेकोमा माफि मागेका छन् ।

प्रधानमन्त्री मरिसनले सरकारले वृद्ध स्याहार केन्द्रमा देखिएको संकटलाई समाधान गर्न असफल रहेकोमा माफि मागे । त्यसैगरी, वृद्ध स्याहार मन्त्री कोलवेकले वृद्ध स्याहार केन्द्रहरुमा बसिरहेका कति जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जानकारी दिन असमर्थ भएकोमा माफि मागे ।

कोलवेकले गत हप्ता सिनेटको समितिमा सो संख्या बताउन असमर्थ भएका थिए । “शुक्रबार म सँग सो तथ्यांक हुनुपर्थ्यो र नभएको कारण म माफि माग्न चाहन्छु,” कोलवेकले सोमबार संसद बैठकमा भने ।

सिनेटको शुक्रबारको सुनुवाईका क्रममा कोलवेकलाई मृतकको संख्या सोधिएको थियो । उनले करिब ३० सेकेन्ड जति सो तथ्यांक खोज्ने प्रयास गरे तर पछि स्वास्थ्य विभागका एक कर्मचारीले उत्तर दिएकी थिइन ।

उनले विहिबारसम्म भिक्टोरियाको वृद्ध स्याहार केन्द्रहरुमा बस्ने २४८ को मृत्यु भएको र त्यसमध्ये २४५ जनाको मृत्यु एज केयर भित्र भएको बताएकी थिइएन ।

कोलवेकले सोमबार जानकारी गराए अनुसार देशभरीको वृद्ध स्याहार केन्द्रहरुमा ३३४ जनाको मृत्यु भएको जसमध्ये ३२८ जनाको एज केयर भित्र मृत्यु भएको छ ।

यसैबीच भिक्टोरियामा  भने संक्रमण घट्दो  छ । हाल १२६ जना कोरोना भाइरसबाट संक्रमित भएको छ । राज्य तथा क्षेत्रिय सरकार स्थानीय तहमा कोरोना भाइरस महमारी रोकथामका लागि जिम्मेवार भएपनि संघीय सरकारले वृद्ध स्याहार केन्द्रहरुको बजेट तथा निगरानी गर्नुपर्ने हुन्छ ।

संसदमा वृद्ध स्याहार केन्द्रहरुमा फैलिएको कोरोना भाइरसको महामारीलाई लिएर प्रधानमन्त्री र वृद्ध स्याहार मन्त्रीमाथि दवाव बढ्दै गएको छ । बिपक्षी लेबर दलका नेता एन्थोनी अल्वानिजले कोलवेकको कार्यशैलीले उनी मन्त्री बन्न लायक नरहेको दावी गरेका छन् ।

यो पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/5440