MENU

तनाव दिने समाचारबाट बच्न विश्व स्वास्थ्य संगठनको सल्लाह

विश्व स्वास्थ्य संगठनले तनाव दिने समाचारबाट बच्न सल्लाह दिएको छ। त्यस्तो समाचार कोरोना सम्बन्धी पनि हुन सक्छ।

कोरोना भाइरस प्रकोपका कारण विश्व नै लकडाउनमा छ। यस्तोबेला लामो समय घरभित्र बस्दा दिक्क हुनु स्वाभाविकै हो।

यसले दिक्दारी मात्र हैन, मानसिक समस्या पनि निम्त्याउन सक्छ। विश्वभरमा मानिसको एउटा ठूलो संख्याले एङ्जायटी र अन्य मानसिक समस्याको गुनासो गर्न थालेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।

अमेरिका, इटली, चीनसमेत कैयन् देशले जारी गरेका ‘एडभाइजरी’ मा मानसिक समस्या देखिएमा सल्लाह लिन हेल्पलाइन नम्बर जारी गरेका छन्। अस्ट्रेलियामा पनि केही मनोचिकित्सक, मनोविद् र याे क्षाेत्रमा काम गर्ने संस्थाहरूले त्यस्तो समस्या देखिएमा परामर्शका लागि फोन नम्बर र वेभ ठेगाना उपलब्ध गराएका छन्।

यद्यपि, हाम्रो  समाजमा पहिलेदेखि नै मानसिक समस्याप्रतिको जागरुकतामा कमी छ। त्यसैले यसमा बढी ध्यान दिनु जरुरी छ। सरकारी र निजी स्तरबाट यस्तो सहयोग लिनुपहिले व्यक्तिगत स्तरमा पनि केही कुरामा ध्यान दिनुपर्छ।

एक्लोपनमाथि भएका अध्ययनले के देखाउछ ?

पछिल्लो समय एक्लोपनमाथि भएका अध्ययनको दोहोर्याएर समीक्षा गरिएको छ। क्वारेन्टाइनको मनोवैज्ञानिक असरलाई कसरी कम गर्ने : समीक्षामा कोरोना भाइरसका कारण एक्लिएका मानिसको स्वास्थ्यमा आउने परिवर्तन पनि सामेल छ।

अध्ययनमा भनिएको छ– लामो समय एक्लिएर बस्दा मानिसको मस्तिष्कमा कुनै दुःखद त्रासदीकै जस्तो असर हुन सक्छ। तनाव दिने खालका समाचार आइरहेका छन् भने तपाईं थप भ्रमित र बेचैन बन्न सक्नु हुनेछ। यसले मानसिक रुपमा बिरामी हुने सम्भावना झन् बढाउँछ।

त्यसैले डब्ल्यूएचओले मानसिक स्वास्थ्यसम्बन्धी एडभाइजरीमा तनाव वा भय उत्पन्न हुने खालका समाचारबाट बच्न भनेको छ। कोरोनासम्बन्धी जानकारी विश्वसनीय माध्यमबाट दिनमा दुई पटक मात्र लिन उसकाे सल्लाह छ।

त्रास उत्पन्न गराउने समाचारमा निरन्तरको पहुँचले तनावको स्तर बढाएर मानसिक समस्याको सिकार बनाउन सक्छ।

परिस्थिति स्वीकार गर्नु

मनोविश्लेषकका अनुसार तनावबाट बच्ने एउटा तरिकामध्ये परिस्थिति स्वीकार गर्नु पनि हो। कोरोना भाइरसबाट उत्पन्न आपतकालीन स्थितिमा आर्थिक नोक्सानी पनि भएको हुन सक्छ। यस्तोमा ‘ज्यान रहे संसार रहन्छ’ भन्ने उक्ति बुझिराख्नु उपयुक्त हुन्छ।

केही मानिसलाई यो उपाय अति सरलीकरण गरिएको जस्तो लाग्न सक्छ। तर, उपयुक्त विकल्प यही हो।आर्थिक नोक्सानी छैन र डर वा बेचैनी मात्रै छ भने आफूलाई डर लागिरहेको छ भन्ने स्वीकार्नु बेस।

मनोविद्का अनुसार यस्तो गर्नेबित्तिकै हाम्रो मस्तिष्क डरको कारण र त्यसबाट मुक्त हुने तरिकामा केन्द्रित हुन थाल्छ। तनावको कारण पहिचान गरिसकेपछि यसबाट बाहिर आउन ‘प्रोग्रेसिभ मसल्स रिल्याक्सेसन’ र योग–ध्यानका तरिका अनलाइनबाट सिक्न सकिन्छ।

अहिले जसका घरमा ससाना बालबालिका छन् उनीहरुमाथि ध्यान दिनु जरुरी छ। अभिभावक तनावमा रहँदा बालबालिकामा चाँडै नकारात्मक प्रभाव पर्छ।

बालबालिकालाई घर र बाहिरको परिस्थितिमा किन अचानक परिवर्तन आएको भन्ने जानकारी गराउनु जरुरी छ। उनीहरुलाई धेरै कुरा आमाबाबुको नियन्त्रणमा हुँदैन भन्ने पनि बुझाउनुपर्छ।

निद्रा, पौष्टिक आहार, सफा वातावरण, व्यायाम र भेटघाट मानिसका आधारभूत आवश्यकता हुन्। त्यसैले लकडाउनका बेला आफन्त र साथीसँग फोनमा कुराकानी र अनलाइन भिडियो च्याट गर्दा अवस्था सामान्य बनाइराख्न मद्दत पुग्छ।

केही जानकार घरमा उपलब्ध सामग्रीबाट नयाँनयाँ परिकार बनाउनेदेखि सरसफाइ र अन्य घरेलु काम गर्न सुझाव दिन्छन्। व्यस्तताका कारण आफ्नो स्वास्थ्यमा ध्यान दिन नसकेका व्यक्तिले अहिले व्यायाम, योग, प्राणायाम र उचित खानपानबाट स्वास्थ्यमा सुधार ल्याउन सक्छन्। यस्तो गर्दा मानसिक तनाव कम गर्न पनि मद्दत पुग्छ।

‘लकडाउन’ अझै केही साता लम्बिन पनि सक्छ। त्यसैले यो घरमा वाद्ययन्त्र बजाउने, चित्र कोर्ने, केही लेख्ने वा सिलाइ–बुनाइ जस्ता अनेकौं सोख पूरा गर्ने अवसर हुन सक्छ। यसका लागि अनलाइन ट्युटोरियलको मद्दत लिन सकिन्छ।

यसबाहेक किताब पढ्ने, आफूलाई रुचि भएका विषयमा इन्टरनेटबाट ज्ञान लिने र सकारात्मक सोच राख्ने समय बिताउने राम्रो उपाय हुन सक्छ।

फिल्म हेर्ने, एउटै खालको सामग्रीमा ध्यान दिने र किताब पढ्नेजस्तो काम निरन्तर धेरै दिनसम्म गर्दा पनि तनाव बढ्न सक्छ। त्यसैले यस्ता काम गर्दा बेलाबेलामा विश्राम गर्न बीचबीचमा फरक काम गर्न बिर्सन हुँदैन। सोसल मिडियाका लागि पनि यही कुरा लागू हुन्छ। तर पनि रमाइला भिडियो त हेर्नैपर्यो ।