MENU

निर्मला बलात्कार तथा हत्याकाण्डमा ८ प्रहरीलाई सफाइ

काठमाडौं, नेपाल ।

निर्मला बलत्कार तथा हत्या काण्डमा मुद्दा लागेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ।

जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासबाट सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा प्रहरीले सफाई पाउने ठहरी फैसला भएको कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले बताए।

घटनाको प्रमाण नष्ट गरेको तथा हिरासतमा रहेकामाथि यातना दिएको भन्दै तत्कालीन कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरोका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि मुद्दा लागेको थियो।

दुई वर्षअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तकोे बलात्कार गरी हत्या गरिएको थियो।

निर्मला हत्याकाण्डमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा एसपी डिल्लीराज बिष्ट सहित ८ प्रहरीबिरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो।

सो काण्डको छानविनमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज बिष्टलाई बर्खास्त गरिएको थियो भने केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसीसहित सात जना प्रहरीलाई निलम्बन गरिएको थियो।