MENU

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक

काठमाडौं, नेपाल ।

नेपालको सार्वभौमसत्ता र राष्ट्रियतामाथि निरन्तर अनर्गल प्रचार जारी राखेपछि नेपालमा भारतिय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले बिहिबार साँझदेखि भारत सरकारको स्वामित्वमा रहेको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारणमा रोक लगाएका हुन ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

नेपाल विरोधी गालीगलौज र प्रधानमन्त्रीलाई समेत जोडेर गरेको भ्रामक र आपत्तीजनक सामाग्री प्रसारणको सीमा नाघेपछि वितरकहरुले नै स्वतस्फुर्त सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेको मेगा म्याक्स टिभीका उपाध्यक्ष धु्रब शर्माले बताए ।

अब नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल गर्ने तयारी भइरहेको उपाध्यक्ष शर्माको भनाई छ ।

भारतिय मिडिया विरुद्ध कानूनी उपचार खोजिने

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुतसंग जोडेर भारतिय मिडियाले गरेको दुष्प्रचारप्रति सरकारले कानूनी र राजनीतिक उपचारको खोजि गर्ने भएको छ ।

सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले, मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भारतिय मिडियाको दुष्प्रचारको कानुनी उपचार खोजिने बताएका हुन्।

तत्काल भारतिय संचाल माध्यममाथि प्रतिवन्ध लगाउने कुनैपनि योजना नरहेको उनको भनाई छ ।