एडिलेड । साउथ अस्ट्रेलियाका प्रिमियर स्टेभेन मार्सलले उड भिल्ल पिज्जा बारमा एक सङ्क्रमितले राज्यको कनट्र्याक्ट टेसिङ समूहलाई जानीजानी भ्रममा राखेकोमा आफू निराश भएको बताएका छन् । यता बुधवार मध्यरात देखि राज्यभर लगाइएको लकडाउन खुकुलो बनाइएको छ । लकडाउन खुकुलो बनाइएसँगै कोभिड नियन्त्रका केही नियमहरू भने सर्वसाधारणले पालना गर्नुपर्ने छ ।
साउथ अस्ट्रेलियाका तीन जना नयाँ सङ्क्रमित फेला परेका छन् र उनीहरू क्वारेनटाइनमा रहेका छन् । २५ वटा सङ्क्रमित उक्त क्लस्टरसंग जोडिएको छ र उनीहरूसँग सम्पर्कमा आएका ४ हजार ५ सय मानिस अनिवार्य क्वारेनटाइनमा छन् ।
प्रिमियर मार्सलले भने कि थाहा पाए अनुसार सङ्क्रमित व्यक्तिले ढाटेका थिए । र उनको व्यक्तिगत स्वार्थपूर्ण कार्यले पुरै राज्यलाई नै निकै समस्यामा पारेको उनले बताए ।
“उनको सो कार्यले व्यवसाय, व्यक्ति, परिवारको सदस्यलाई नै असर गरेको छ जुन कार्य स्वीकार्य छैन,” मार्सलले भने । सङ्क्रमित व्यक्तिले कनट्र्याक्ट ट्रेसिङ गर्ने समूहसँग बोल्दै आफू उड भिल्ल पिज्जा बारमा केवल पिज्जा किन्न गएको मात्र बताएका थिए जबकि उनले त्यहाँ कैयौँ चरणमा काम गर्ने गरेको बताइएको छ ।
प्रिमियर मार्सलका अनुसार आपत् कालिन व्यवस्थापन ऐनमा अनुरोध गरेमा मानिसहरूले जानकारी प्रदान गर्नुपर्ने हुन्छ तर झुटो उत्तर दिनेलाई भने कुनै सजायको व्यवस्था छैन ।
प्रहरी आयुक्त ग्रान्ट स्टेभेन्सका अनुसार उनको झुटका कारण ६ दिनको लकडाउन लगाइएको छ । सङ्क्रमितको सम्पर्कमा रहेका नयाँ समूहको ट्रेसिङ र क्वारेनटाइनको व्यवस्था मिलाउने आवश्यकता हुँदा हुँदै प्रिमियर मार्सलले भने प्रतिवन्धहरु फुकुवा गर्दै जाने जनाएका छन् । जस अनुसार परिवारका सदस्यहरूसँगै शारीरिक अभ्यास गर्न पाउने भएका छन् ।
तर पनि चार मिटरको दूरी कायम गरेर एक सय व्यक्तिका लागि आतिथ्य कार्य आयोजना गर्न सकिनेछ भने टेबल बुकिङ केवल १० जनाका लागि मात्र गर्न सकिनेछ ।
यता भिक्टोरिया र साउथ अस्ट्रेलियाबीचको सीमा प्रतिबन्ध डिसेम्बर १ तारिखबाट हटाउने तयारी गरिएको छ ।