MENU

कर्पोरेट भ्रस्टाचारमा अस्ट्रेलिया पोस्टको घडी काण्ड र सिकाई

An Article By Kom Khatri

क्रिस्टिन होलगेट ३ अक्टोबर २०१७ देखि २ नोभेम्बर २०२० सम्म ‘अस्ट्रेलिया पोष्ट’की प्रमुख कार्यकारी अधिकृत थिइन् । उनले गत नोभेम्बरमा ‘घडी उपहार प्रकरण’ले गर्दा राजीनामा दिएकी थिइन् । अस्ट्रेलिया पोष्ट यहाँको सरकारी स्वामित्व रहेको हुलाक सेवा हो ।

होलगेटको कार्यकालमा सो संस्थाका चार अधिकृतलाई २० हजार अस्ट्रेलियन डलर बराबरको घडी उपहार दिइएको आरोप लागेको थियो । विभिन्न बैंकहरूसँग करिब २२ करोड अस्ट्रेलियन डलर बराबरको व्यापारिक सम्झौता गर्न सफल भए पश्चात् उनले ती अधिकृतहरूलाई महङ्गा घडी उपहार दिएको स्वीकार गरेकी थिइन् ।

प्रमुख कार्यकारी अधिकृत होलगेटले सो सम्झौता गर्न सफल भएकोमा धन्यवाद स्वरूप २० हजार डलरको उपहार दिनु खासै ठूलो कुरा नरहेको बताएकी थिइन् । साथै उनले उपहार किन्नका लागि जनताले तिरेको करको रकम प्रयोग नभएको पनि स्पष्ट पारेकी थिइन् ।

सरकारी स्वामित्व रहेको अस्ट्रेलिया पोष्टमा प्रमुख कार्यकारी अधिकृत होलगेटको तलब वार्षिक रूपमा २५ लाख अस्ट्रेलियन डलर रहेको छ भने गत वर्ष मात्रै तलब बाहेक बोनसका रूपमा आठ लाख ३१ हजार अस्ट्रेलियन डलर प्राप्त गरेकी थिइन् ।

सो प्रकरण बाहिरिएपछि प्रधानमन्त्री स्कट मोरिसनले सो उपहार काण्डको निन्दा गरेका थिए । साथै उनले सो घटनाको अनुसन्धानका लागि आदेश दिएका थिए ।

यहाँ समस्या संस्कृति वा सभ्यताको बिल्कुल होइन । मुख्य समस्या भनेको नैतिकताको हो । जब नेतासँग नैतिकता हराउँछ तब उसले बस्नका लागि होस् वा लाउनका लागि पाएको त्यो बहुमूल्य उपहार इन्कार गर्नै सक्दैन र उपहार दिनेले त्यसको ब्याज सहित साँवा असुलउपर गरिछाड्छ ।

अनुसन्धान पश्चात् गठित समितिले ३२ वटा सुझावहरू पेश गरेको थियो । २३ मार्चमा अस्ट्रेलिया पोष्टका कार्यवाहक सिइओ रड्नी बोइजले ती ३२ वटा मध्ये २६ वटा सुझावहरू संस्था भित्र लागू भइसकेको बताएका छन् । ती मध्ये प्रमुख कार्यकारी अधिकृतले खर्च गर्न पाउने क्रेडिट कार्ड बन्द, कर्मचारीलाई दिइने उपचारमा कटौती लगायतका रहेको उनले बताए ।

हरेक देश र संस्कृतिका आआफ्नै नैतिकताका मापदण्ड हुन्छन् ।

हाम्रो देशमा नेतालाई माया गरेर कुनै व्यक्तिले बस्नलाई घर वा अन्य जिन्सी वा नगदी दिनु भनेको सद्भाव र प्रेमको एउटा दृष्टान्त मानिन्छ । त्यही प्रेम र सद्भावको लालित्यमा हाम्रा अधिकांश नेताहरू आज सजिलै जिउन सक्ने भएका छन् ।

त्यसको विपरीत अस्ट्रेलियामा जनताले तिरेको करबाट तलब खाने जो कोही मनुष्यले पनि उपहार स्वरूप कुनै पनि नगद, जिन्सी वा अन्य सामान लिनुलाई भ्रष्टाचार मानिन्छ र कारवाहीको सिफारिस गरिन्छ ।

यहाँ समस्या संस्कृति वा सभ्यताको बिल्कुल होइन । मुख्य समस्या भनेको नैतिकताको हो । जब नेतासँग नैतिकता हराउँछ तब उसले बस्नका लागि होस् वा लाउनका लागि पाएको त्यो बहुमूल्य उपहार इन्कार गर्नै सक्दैन र उपहार दिनेले त्यसको ब्याज सहित साँवा असुलउपर गरिछाड्छ ।