MENU

प्रवासमा आप्रवासीको राजनीतिक सपना

Article by Kom Khatri

सिड्नीको केन्द्रबाट करिब १६ किलोमिटर पश्चिममा नेपालीहरूको बाक्लो उपस्थिति रहेको ठाउँमध्ये एक अबर्न अवस्थित छ । यो स्थानको ब्यस्त बजारनजिकै रहेको एउटा ‘जेब्राक्रसिङ’नेर गत शनिबार तीनजना मानिसहरूले बाटोमा ओहोरदोहोर गर्नेहरूलाई पम्पलेट बाँडिरहेका थिए । त्यस्तै, बाटोको एउटा कुनातर्फ तीनवटा पोष्टरमा तिनै व्यक्तिहरूको फोटो र भोट दिनका लागि गरिएका अपिलसहित पोष्टर राखिएका थिए । ती पम्पलेट बाँड्ने व्यक्तिहरू आगामी ४ डिसेम्बरमा हुने चुनावमा उठेका स्थानीय तहका नेताहरू थिए ।

नेताहरूले आफै पम्पलेट बाँडेर चुनाव प्रचार गरेको त्यो दृश्यले अस्ट्रेलियाको राजनैतिक यात्रा शुरू गर्न चाहनेहरूका लागि केही सन्देश र तथ्यहरू समेत उजागर गरिरहेको मैले महसुस गरेको थिएँ । ती नेताहरूलाई हरकोही व्यक्तिले आफ्ना मनमा लागेका जिज्ञासा सोध्न सक्थे । उनीहरू किन चुनावमा लड्दैछन् ? तिनीहरूका मूलभूत एजेण्डा के हुन् ? कुन पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् ? यो क्षेत्रको विकासका कार्यक्रमहरू केके अघि सारेका छन् ? आदि जस्ता सर्वसाधारणका प्रश्नलाई तिनले धक नमानीकन उत्तर दिन्थे । यद्यपि त्यहाँ आवातजावत गर्ने धेरै सर्वसाधारणले तिनी नेतालाई वास्ता गर्दैनथे । पम्पलेट हातमा दिँदा कतिले ‘मलाई चाहिँदैन’ भनेर तर्किन्थे भने कतिले पम्पलेट लिएर अलि पल्तिर राखिएको फोहोर फाल्ने ‘बिन’मा लगेर फालिदिन्थे ।

नेताभन्दा ठूला जनता हुन् र जनताले नै नेतृत्वको मार्ग निक्र्योल गर्ने गर्दछन् । त्यसैले लोकतान्त्रिक राजनीतिक यात्राको पहिलो पाठ भनेको नेता भएपछि जनताका अगाडि सधैँ झुक्न सक्नुपर्दछ र आम जनताजस्तै सामान्य हुन सक्नुपर्दछ भन्ने शिक्षा त्यस क्षणको भोगाइबाट सजिलै लिन सकिन्थ्यो ।

ती चुनाव प्रचारका लागि आएका नेताहरूका प्रचारप्रसार गरिदिने पार्टीका लेभी बुझाएका वफादार अन्य कार्यकर्ताहरू पनि त्यहाँ कोही थिएनन् । अनि तिनलाई त्यहाँ फूलमाला र अबीर लगाइदिएर यी त हाम्रा नेता हुन् भनेर घरघर वा पसलपसल डुलाउने भक्तहरू पनि तिनीहरूसँग कोही थिएन । तिनीहरू आफ्नो चुनावको प्रचार आफै गरिरहेका थिए । यस्ता दृश्य न्यू साउथ वेल्स राज्यभरि आगामी केही दिनसम्म देखिनेछन् । यी दृश्यहरू यहाँ अपवाद होइनन् । यी यहाँका सामान्य दृश्य हुन् । फरक राजनैतिक परिवेशबाट आएको आप्रवासीका दृष्टिले हेर्दा केही असामान्य लागे पनि यस्ता दृश्यले नेता हुनु भनेको आफैमा अस्वभाविक र आवरणमा आम जनमानसभन्दा फरक हुनु बिल्कुल होइन भन्ने गहिरो सन्देश दिएको मैले अनुभव गरेको थिएँ ।

नेताभन्दा ठूला जनता हुन् र जनताले नै नेतृत्वको मार्ग निक्र्योल गर्ने गर्दछन् । त्यसैले लोकतान्त्रिक राजनीतिक यात्राको पहिलो पाठ भनेको नेता भएपछि जनताका अगाडि सधैँ झुक्न सक्नुपर्दछ र आम जनताजस्तै सामान्य हुन सक्नुपर्दछ भन्ने शिक्षा त्यस क्षणको भोगाइबाट सजिलै लिन सकिन्थ्यो । अस्ट्रेलियामा राजनीतिक जीवन क्याम्पसमा पुगेदेखि विपक्षीका विरुद्ध सडकमा नारा लगाउनेदेखि शुरू भएर जीवनको अन्त्य नहुञ्जेलसम्म हिँडिरहने यात्राका रूपमा बिल्कुल लिइन्नँ । त्यसको विपरीत, नैतिकताको प्रश्न उठ्नासाथ खुरुखुरु राजीनामा दिएर राजनीतिक मैदानबाट हट्नुलाई यहाँको सामान्य रीतजस्तै लिइन्छ । त्यस्ता अनेक उदाहरणहरू यहाँ छरपष्ट पाइन्छन् ।

केही हफ्ताअघि न्यू साउथ वेल्स राज्यको भ्रष्टाचार नियन्त्रण गर्ने संस्था ‘आइक्याक’ले अनुसन्धान थाल्नासाथ पूर्वप्रिमियर ग्लेडिज बेरिजिक्लिनले राजीनामा दिइन् । त्यसको केही दिनपछि नै डेपुटी प्रिमियरले परिवारलाई समय दिनका लागि राजनीतिबाट सन्यासको घोषणा गरे । त्यस्तै भिक्टोरिया राज्यमा केही हफ्ताअघि मापसे गरेर गाडी चलाउँदा सडक दुर्घटनामा परेपछि त्यहाँका सांसद टिम स्मिथले पदबाट राजीनामा दिएर आगामी चुनावमा भाग नलिने घोषणा गरे । यी त केही नैतिकताका आधारमा राजीनामा दिएका घटनाहरू भए । नैतिकताको कसीमा उभिन सक्नु यहाँको राजनीतिको सबैभन्दा पहिलो शर्त हो ।

आगामी डिसेम्बर ४ तारिखमा न्यू साउथ वेल्स राज्यमा स्थानीय निर्वाचन हुँदैछ । राज्यमा रहेका १ सय २८ मध्ये १ सय २४ वटा काउन्सिलका लागि उक्त चुनाव हुँदैछ । आगामी स्थानीय निर्वाचनमा हालसम्म नेपाली मूलका ९ जना उम्मेदवारहरू पनि उठेका छन् ।

सेप्टेम्बर २००९ देखि फेब्रुअरी २०१० सम्म अबर्नका काउन्सिलर ‘ज्याक ऊ’ले एउटा निर्माणाधिन परियोजना काउन्सिलबाट पारित गरेबापत् ४ हजार ५ सय अस्ट्रेलियन डलर घुस लिएको आरोप लागेपछि उक्त घटनालाई यहाँको भ्रष्टाचार नियन्त्रण गर्ने संस्था ‘आइक्याक’ले अनुसन्धान गरेको थियो । अनुसन्धानपश्चात् उनी दोषी सावित भएपछि पदबाट राजीनामा दिन बाध्य भएका थिए । यो त केवल एउटा मात्र उदाहरण हो । स्थानीय नेता मात्र होइन राज्यका पूर्वंप्रिमियरले एक बोतल महङ्गो वाइन उपहार लिएको घटना सार्वजनिक भएपछि राजीनामा दिएको घटना होस् वा प्रधानमन्त्रीले सामान्य जनताको घरको आँगनमा मिडियालाई ब्रिफिङ दिने क्रममा घरधनीले आफ्नो आँगनबाट हट्ने आदेश दिएपछि खुरुखुरु हटेको घटना नै किन नहोस्, लोकतन्त्र बलियो हुनु भनेको जनता बलियो हुनु हो भन्ने यथेष्ट उदाहरण यहाँको लोकतन्त्रमा यथेष्ट पाइन्छ । लोकतन्त्र सबल हुनमा जुनसुकै तहका नेतृत्वको यसप्रतिको बुझाइलाई महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

आगामी डिसेम्बर ४ तारिखमा न्यू साउथ वेल्स राज्यमा स्थानीय निर्वाचन हुँदैछ । राज्यमा रहेका १ सय २८ मध्ये १ सय २४ वटा काउन्सिलका लागि उक्त चुनाव हुँदैछ । आगामी स्थानीय निर्वाचनमा हालसम्म नेपाली मूलका ९ जना उम्मेदवारहरू पनि उठेका छन् । एकातर्फ यो समग्र नेपाली आप्रवासी समुदायका सरोकारका विषयहरू उठान गर्न मद्दत अवश्य पुग्ने नै छ भने अर्कोतर्फ नेपालमा गरिने राजनैतिक अभ्यासका खराब रङ्गहरूलाई पखालेर तुलनात्मक रूपमा यहाँको साधारण राजनैतिक जीवनमा प्रवेश गर्नका लागि हामी तयार छौं त भन्ने प्रश्नको जवाफ समेत दिन मद्दत गर्नेछ ।

न्यू साउथ वेल्स राज्यमा हुन लागेको स्थानीय निर्वाचन मार्फत आफ्नो राजनीतिक यात्रा शुभारम्भ गर्नका खातिर कम्मर कस्ने सबै आप्रवासीलाई हार्दिक सफलताको शुभकामना । यो पाइला जातीय, क्षेत्रीय, वर्गीय वा कुनै विशेष समुदायको एजेन्डालाई मध्यविन्दु बनाएर चुनाव जित्ने हतकण्डाका रूपमा प्रयोग नगरेर समग्र क्षेत्रमा बस्ने बहुसङ्ख्यक समुदायको हित र उत्थानका खातिर एउटा कोसेढुङ्गा बन्ने मौका बनोस् । शुभकामना !